नवलपरासीमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दै : १० गाई मरे

Jasus Khabar 3925+ समाचार ( )
१७ भाद्र २०८२

पशुहरूमा लाग्ने लम्पी स्किन सङ्क्रमणबाट नवलपरासीमा १० वटा गाई मरेका छन् । दुई महिनाअघि बर्दघाटमा एक गाईमा देखिएको यो रोगको सङ्क्रमण हाल  २६९ जीउ (वटा) गाई र भैंसीमा देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीले जनाएको छ । 

सङ्क्रण देखिएकामा २५८ गाई र ११ वटा भैंसी छन् । सङक्रमण देखिएकामध्ये १० वटा गाई मरेको विज्ञ केन्द्रकी पशु चिकित्सक डाक्टर विभुती सिंहले बताइन् । सबैभन्दा बढी सुनवलमा ६ वटा, बर्दघाटमा २, रामग्राम र सरावलमा १/१ वटा मरेका छन् । 

यो रोग गाई र भैंसीमा त्यसमध्ये पनि सबैभन्दा बढी गाईमा देखिने गरेको छ । अहिले देखिएको सङ्क्रमणमा गाईका बाच्छा बाच्छी र भैंसीका पाडापाडीमा बढी रहेको छ । त्यसैगरी खोप लगाउन छुटेका गाईभैंसीमा पनि सङ्क्रमण बढी देखिएको छ । पछिल्लो समय सङ्क्रमण बढ्दै गएको केन्द्रले जनाएको छ । सातामा ३० देखि ३५ वटा गाईभैंसीमा सङ्क्रमण देखिन थालेको कार्यालयले जनाएको छ ।

सङ्क्रमण फैलिन नदिन सबै पालिकामा खोप पठाइएको विज्ञ केन्द्रले जनाएको छ । सङ्क्रमण फैलिनुअघि असार महिनामा मात्र जिल्लामा २३ हजार पशुमा खोप लगाइएको पशुचिकित्सक डाक्टर सिंहले जानकारी दिइन् । अहिले प्रतापपुरमा ५ हजार सुस्तामा ५ सय खोप पठाएर लगाउने कार्य भइरहेको छ । ‘खोपको समस्या छैन । अहिले पनि हामीसँग साढे १० हजार खोप स्टकमा छ । क्रमशः अन्य पालिकामा आवश्यकताअनुसार पठाउँछौं,'पशुचिकित्सक सिंहले भनिन् ।  

जिल्लामा करिब ८३ हजार ४८८ गाईभैंसी छन् । जसमा गाईको संख्या ४४ हजार ९८८ र भैंसीको संख्या ३८ हजार ५ सय रहेको केन्द्रले जनाएको छ । यो सरुवा रोग हो । झिँगा,भुसुना,लामखुट्टेबाट सर्ने यो रोगबाट बचाउन  खोप लगाउनु नै उत्तम उपाय रहेको पशु चिकित्सकहरूले बताएका छन् । 

पशुहरूलाई सङ्क्रमणबाट बचाउन सङ्क्रमित पशुहरूबाट टाढा राख्ने, नयाँ पशु ल्याउँदा रोग भए/नभएको पहिचान गरेर मात्र ल्याउने र विशेष हेरचाहासहित स्याहर सुसारमा ध्यान दिनुपर्ने पशु चिकित्सक डाक्टर सिंहको सुझाव छ । 

लम्पी स्किन लागेका पशुचौपायाहरुमा १०५ डिग्रीभन्दा बढी ज्वरो आउने, दानापानी कम खाने, छालामा साह्रो गोलो गाँठाहरु देखिने, नाक, मुख, पुच्छर, अन्डकोषलगायतका स्थानमा दुख्ने खालको गाँठो देखिने लक्षण देखिने गरेको पशु चिकित्सकहरुले जनाएका छन् । 

प्रतिक्रिया