१६ हजार हेक्टरमा लगाइएको धानबालीमा क्षति

Jasus Khabar 3925+ समाचार ( )
२४ अशोज २०८२

रौतहटमा गत असोज १७ र १८ गतेको भारी वर्षा र हावाहुरीका कारण हजारौं हेक्टरमा लगाइएको धानबालीमा ठूलो क्षति पुगेको छ। बागमती, लालबकैया लगायत नदीमा आएको बाढीका कारण भएको डुबानबाट धानबालीमा ठूलो क्षति भएको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ। 

धानमा बाला लाग्ने बेला समयमा भएको वर्षाका कारण धान लडेपछि किसान चिन्तामा परेका छन्। केही धानमा बाला लागेर झुलिसकेको र केहीमा भर्खर बाला लाग्ने बेला भएको भीषण वर्षाले धानबालीमा करोडौंको क्षति हुँदा किसानहरू चिन्तित भएका छन्।

जिल्लाको अधिकांश भेगमा असोजसम्म धान बाली परिपक्व अवस्थामा पुगेको भएपनि यसपटक वर्षा र हावाहुरीका कारण धानबाली क्षति पुगेको वृन्दावनका  किसान बैजनाथ पटेलले बताए। ‘वर्षभरी खाने बाली नोक्सान भयो, अब गुजारा कसरी चलाउने पटेलले प्रश्न गरे।’

वर्षाले जिल्लामा सबभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको छ भने त्यसपछि तरकारी, केरा, उखु र फलफूलमा समेत क्षति पुर्‍याएको छ।

जिल्लामा यस वर्ष कुल ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली मध्ये वर्षाका कारण करिब १५ प्रतिशत अर्थात १६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले जानकारी दिए। 

वर्षाबाट जिल्लामा १.३१ प्रतिशत हेक्टर क्षेत्रफल उखु, ४ सय हेक्टर क्षेत्रफल तरकारी, २ सय हेक्टर क्षेत्रफल केरा र २.३२ प्रतिशत हेक्टर क्षेत्रफल लगाइएको फलफूल पूर्ण रूपमा नष्ट भएको कुर्मीले जानकारी दिए। 

जिल्लामा कुल ५१ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३६ हजार हेक्टर क्षेत्रफल मात्र धानबाली लगाइएको छ। ३६ हजारमध्ये करिब आधा १६ हजार हेक्टर क्षेत्रफल लगाइएको धानबाली वर्षाले सखाप भएपछि यस वर्ष धान उत्पादन घट्ने भएको छ।

धान रोप्ने बेलामा खडेरी परेको तर धान भित्र्याउने बेलामा भएको अत्यधिक वर्षाले धानबाली, तरकारी, उखु, केरा, फलफूलमा व्यापक क्षति पुर्याएपछि रौतहटका किसान ठूलो समस्यामा परेका छन्। तर, तीनै तहको सरकारले किसानको समस्याका बारेमा बेखबर बनेर बसेको आरोप किसानहरूले लगाए। 


प्रतिक्रिया

सम्बन्धित समाचार