मधेशमा डिप बोरिङ जडान सुरु

Jasus Khabar 3925+ समाचार ( )
११ श्रावण २०८२

लामो समयदेखि आकासे पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र हुँदा कृषियोग्य जमिनमा सिँचाइ तथा खानेपानीको संकट उत्पन्न भएपछि प्रदेश सरकारले डिप बोरिङ जडान गर्ने योजना सुरु गरेको छ ।

प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा मधेश प्रदेशका प्रत्येक वडामा उटाका दरले डिप बोरिङ जडान गर्ने योजना ल्याइएको हो ।

ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले आवश्यकता तथा प्राथमिकताका आधारमा विस्तारै डिप बोरिङ जडान गरेर पानीको समस्या समाधान गर्ने प्रदेश सरकारले योजना बनाएर कार्यान्वयन सुरु गरेको जानकारी दिए । अहिले प्रदेशको सहरी तथा ग्रामीण क्षेत्रमा खानेपानीको समस्या विकराल बन्दै गएकाले सिँचाइभन्दा खानेपानीलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

मधेश प्रदेश सरकारको सीमित स्रोतसाधनका बाबजुद आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरेर डिप बोरिङ जडान अगाडि बढाइएको मन्त्री यादवले बताए । खानेपानी तथा सिँचाइको समस्याबाट ग्रसित जनताले सो मन्त्रालयसमक्ष विभिन्न वडा तथा टोलमा खानेपानीको समस्या रहेको भन्दै बोरिङ जडानको माग गरेका मन्त्रालयले जनाएको छ ।

खडेरीको चपेटामा परेको मधेशलाई प्रदेश सरकारले सुक्खाक्षेत्र घोषणा गरिसकेको छ भने संघीय सरकारले पनि तीन महिनाका लागि ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । साथै प्रदेश सरकारले खानेपानी अभाव क्षेत्रमा ट्याङ्कर तथा दमकलबाट निःशुल्क रूपमा पानी वितरण गरिरहेको छ ।

यसैबीच मधेश प्रदेश सरकारको डिप बोरिङ जडान गर्ने योजनाअनुसार धनुषाको मिथिलाविहारी नगरपालिका– २ स्थित परशुराम तलाउ क्षेत्रमा पहिलो चरणको जडान सुरु भएको मन्त्री यादवले जानकारी दिए । मन्त्रालयअन्तर्गत भूमिगत सिँचाइ कार्यालय जलेश्वर, भूमिगत सिँचाइ कार्यालय लहान, भूमिगत सिँचाइ कार्यालय कर्मेया (सर्लाही), तथा भूमिगत सिँचाइ कार्यालय वीरगञ्जमार्फत डिप बोरिङ निमार्ण गरिने उनले उल्लेख गरे । उनका अनुसार ती कार्यालयले मधेश प्रदेशका आठ जिल्लामध्ये दुई/दुईवटा जिल्लामा डिप बोरिङ जडान तथा निमार्ण गर्दै आएका छन् ।

संघीय सरकारको मातहतमा रहेको कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहाले गत आर्थिक वर्षदेखि सिँचाइका साथै डिप बोरिङ जडान सुरु गरेको कार्यालयका प्रमुख वीरेन्द्र यादवले जानकारी दिए । धनुषा तथा सिरहा कार्यक्षेत्र रहेको सो कार्यालयबाट जडान गरिएका डिप बोरिङबाट केही हदसम्म सिँचाइ तथा खानेपानीको समस्या समाधान भएको उनको भनाइ छ ।

प्रतिक्रिया