मर्मत कार्यमा अनियमितता आरोप, स्थानीय युवाहरूको आपत्ति

Jasus Khabar 3945+ समाचार ( )
१६ कार्तिक २०८२

अजमल अन्सारी

सुनसरी । भोकाहा नरसिंह गाउँपालिकामा आगजनीपछि सुरु गरिएको प्रशासकीय भवन मर्मत तथा पुनःसञ्चालन कार्यमा अनियमितता भएको आरोप लागेको छ ।


जेन जी आन्दोलनका क्रममा आगजनीमा परेकाे गाउँपालिकाको भवनमा हाल मर्मत, रंगरोगन, ढोका–झ्याल तथा अलमुनियम क्याबिन निर्माणलगायतका काम सुरु भएको थियो । सो कार्यमा अनियमितता भएको भन्दै स्थानीय युवाहरूले आपत्ति जनाउँदै कार्यस्थलमै पुगेर काम स्थगित गर्न माग गरेका हुन् ।


युवाहरूका अनुसार गाउँपालिकाले करिब ६० लाख रुपैयाँ बराबरको मर्मत कार्यलाई टुक्रा–टुक्रा पारेर १०–१० लाखका दरले आफ्ना नजिकका व्यक्तिहरूलाई कोटेशनमार्फत वितरण गरेको आरोप छ । सूचनापत्र, टेन्डर वा कोटेशन प्रक्रिया सार्वजनिक नगरी काम बाँडिएको भन्दै युवाहरूले पारदर्शिता माग गरेका छन् ।


स्थानीय सञ्चारकर्मी तजमुल हुसेनका अनुसार गाउँपालिकामा भइरहेको निर्माण कार्यको तस्वीर र भिडियो लिन जाँदा सुरक्षा गार्डले पत्रकारलाई रोक्का गरेको दाबी गरेका छन् ।


युवाहरूले गाउँपालिकाको निकट व्यक्तिहरूले विरोध गर्ने युवामाथि राजनीतिक प्रतिशोधका बहानामा फसाउने प्रयास गरिरहेको आरोप पनि लगाएका छन् ।


यस विषयमा गाउँपालिकातर्फबाट आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन । गाउँपालिका अध्यक्षसँग सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन् सकेनन् ।


प्रतिक्रिया