सुनसरी। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ सोनियाही क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। अवैध लागूऔषध नियन्त्रणअन्तर्गत गरिएको विशेष अपरेशनमार्फत २२ किलो गाँजा बरामद गरिएको हो।>
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण मुख्यालयका अनुसार सो गाँजा पल्सर मोटरसाइकलमा राखिएको झोलाभित्र लुकाइछिपाइ ल्याइँदै थियो। नियमित गस्ती र सूचनाप्राप्त भएपछि तत्काल निगरानी बढाइएकाले उक्त सामान नियन्त्रणमा लिन प्रहरी सफल भएको जनाइएको छ। रोक जाँच गर्न खोज्दा प्रहरी देख्नेबित्तिकै चालकले मोटरसाइकल गुडाउँदै मोटरसाइकल छाडेर पैदल भागेको बताइएको छ।>
>
बरामद गरिएको गाँजा र मोटरसाइकल आवश्यक अनुसन्धान र कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले मोटरसाइकल चालकको मोबाइल फोन र उसले लगाएको शर्ट समेत फेला पारेको छ। प्रहरीले यी प्रमाणहरूले घटनामा संलग्न कारोबारीलाई पहिचान गर्न र पक्राउ गर्न सहज हुने अपेक्षा गरिएको छ।>
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट उल्टीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक उत्तम कार्कीको सफल नेतृत्व र प्रभावकारी कार्यशैलीका कारण उक्त बरामद कार्य सम्भव भएको हो। कार्कीले भने, “हामी अवैध लागूऔषध तथा आपराधिक गतिविधिबाट समाजलाई सुरक्षित बनाउन निरन्तर सक्रिय छौँ। सीमावर्ती तथा संवेदनशील क्षेत्रहरूमा गस्ती र चेकजाँचलाई अझ कडाइ गर्नेछौँ।”कार्कीले थपे, “हामीलाई प्राप्त विशेष सूचनाका आधारमा टोली परिचालन गरेर यो सफल बरामद गर्न सक्यौँ। अवैध कारोबारमा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन सशस्त्र प्रहरी प्रतिबद्ध छ।”>
प्रहरीका अनुसार हालसालै सुनसरीका विभिन्न स्थानमा सशस्त्र प्रहरीद्वारा लागूऔषध, अवैध सामान र तस्करीजन्य वस्तु नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिइएको छ। यसअघि पनि कार्कीको टोलीले विभिन्न अवैध सामग्री बरामद गर्न सफल हुँदै आएको छ।>
>
यस प्रकारका कारबाहीहरूले स्थानीय बासिन्दामा सुरक्षाप्रति विश्वास बढाएको र अवैध कारोबारमा संलग्न समूहहरूलाई सन्देश पुगेको प्रहरीको भनाइ छ।>>