३६ वर्षदेखि दुवै छोरा बेखबर, फर्कने आसमा घर परिवार

Jasus Khabar 3925+ समाचार ( )
६ आषाढ २०८२

तीन वर्षको फरकमा सापकोटाका साहिँलो छोरा माधव सापकोटा र कान्छो छोरा बासु सापकोटा बेखबर भएका हुन्।

 नुवाकोटको पश्चिमी भेगमा रहेको सामरीका एकै घरका दुई दाजुभाइ झन्डै चार दशकदेखि बेपत्ता छन्। साहिँलो दाजु घरबाटै र कान्छो भाइ भारतबाट बेपत्ता भएका हुन्।

८८ वर्षीय वृद्ध लेखनाथ सापकोटाको अन्तरआत्मा र सपना दुवैले यतिखेर भनिरहेको छ, हरेस नखानु, एकदिन दुवै छोरा घरको आँगनीमा टुप्लुक्क आइपुग्नेछन्। वृद्ध सापकोटाले पनि सोही आशामा आफ्ना दुई छोराहरू एक दिन अवश्य घर फर्कने दृढ विश्वासमा दैनिक आँखा मूल बाटोतिर बिछ्याइरहेका हुन्छन्।

तीन वर्षको फरकमा सापकोटाका साहिँलो छोरा माधव सापकोटा र कान्छो छोरा बासु सापकोटा बेखबर भएका हुन्। पहिले कान्छो छोरा बासु भारतबाट र त्यसको तीन वर्षपछि साहिँलो छोरा माधव घरबाटै बेपत्ता भएका हुन्।

उनी आफ्ना दुई छोराको खोजीमा अझै भौतारिइरहेका छन्। उनलाई भाइहरू खोज्न बर्दियामा रहेका जेठा छोरा हरिहर र वैदेशिक रोजगारीमा मकाउमा रहेका माइलो छोरा केशव सापकोटाले भरपूर र सकेको साथसमेत दिइरहेका छन्। सामरीका सापकोटा परिवारका एकैघरका दुई दाजुभाइ विगत ३६ वर्षदेखि बेपत्ता रहेका छन्। 

विदुरदेखि ३० किलोमिटर पश्चिममा रहेको म्यागङ गाउँपालिका– ६ सामरीका वृद्ध लेखनाथ सापकोटाका साहिँलो छोरा माधव २०४९ र कान्छा छोरा बासु सापकोटा २०४६ सालदेखि बेपत्ता भएका हुन्। झन्डै चार दशकदेखि बेखबर भएका र उनीहरूको खोजीमा परिवारजनले सबैसँग सहयोगको अपिल गरेका छन्। एसएलसी उत्तीर्ण भएका माधव सापकोटा २०४९ सालमा हराउँदा २३ वर्षको र १८ वर्षका बासु सापकोटा २०४६ सालमा बेपत्ता हुँदा त्रिभुवन त्रिशूली मावि त्रिशूलीमा कक्षा १० मा अध्ययनरत थिए।

भाइहरूको खोजीका लागि दाजु केशवले आँसु झार्दै देश–विदेशका नेपालीहरू, मानवतावादी संस्था र मिडियामा अपिल गरेका छन्। वृद्ध बुवाको आफू छोराहरूको मुख हेरेर बिदा हुन चाहेको बताउँदै उनका दाजुभाइले खोजी गरिदिन सबैसामु अनुरोध गरेका छन्। 
वृद्ध सापकोटाका चार भाइ छोरा र तीन दिदीबहिनी छोरीहरूमध्ये साहिँलो र कान्छो छोरा बेपत्ता भएका हुन्। सबैसँग हारगुहार गरिसक्यौं। तर, मेरा काकाहरूको वास्तविकता अहिलेसम्म पत्ता लाग्न नसकेको हराइरहेका बासु र माधवका भतिजा आशिष सापकोटाले वताए।

म्यागङ गापा सामरी (साबिक सामरी गाविस—२) का बासु सापकोटा २०४६ साल फागुनमा भारतीय सेनामा भर्ती हुन आफ्ना पिता लेखनाथसँगै भारत गएका थिए। भर्ती प्रक्रिया ढिला भएपछि उनलाई पिताले इलाहाबादस्थित एक भारतीय प्रहरी अधिकारीको घरमा घरेलु कामदारका रूपमा छोडेर नेपाल घर फर्किए। पहिले त कान्छो छोरा बासुले केही महिनासम्म चिठीमार्फत परिवारसँग सम्पर्क राखे। तर, करिब एक वर्षपछि अचानक सम्पर्कविहीन भए।

लगत्तै बाबुले इलाहाबाद गएर खोज्दा घरधनीले, ‘छोरो झोला बोकेर घर जान्छु भन्दै गएको हो’ भने। त्यही दिनदेखि हालसम्म बासु बेखबर छन्, परिवारको सम्पर्कमा नभएको माहिलो केशव सापकोटाको भनाइ छ। बासु हराएको अहिले ३६ वर्ष पुग्दा पनि न उनको खबर छ, न कुनै जानकारी पत्ता लगाउन नसकिएको दाजु केशवको पिरलो छ। उनका साइलो भाइ अर्थात् माधव सापकोटा पनि २०४९ साल असोज महिनादेखि बेपत्ता छन्।

सामरी घरमा बिहानै उठेर घरायसी काम सकेर नाम्लो र हँसिया बोकेर घाँस काट्न निस्किएका माधव साँझसम्म घर फर्किएनन्। खोजतलास गर्दा घरमा उनका लुगाफाटो र शैक्षिक प्रमाणपत्रसमेत नभेटिएपछि परिवारले उनी पहिले नै कतै जान तयार भएर बसेको हुन सक्ने अनुमान गरेका थिए।

दाजु केशवका अनुसार माधव हराएको पनि ३३ वर्ष वर्ष बित्दा पनि उनलाई न कसैले देखेको छ, न कुनै जानकारी नै आएको छ। आफ्नो कान्छो र साहिँलो दुई दाजुभाइ लगातार हराएपछि वृद्ध लेखनाथ सापकोटाको परिवारमा अहिलेसम्म पनि कुनै खुसी, उत्साह र चैन नभएको केशवले भक्कानिँदै भने।

‘के गर्नु दुवै भाइ आइदिए हुन्थ्यो, वृद्ध बुवा कति धेरै खुसी हुन्थे होलान्’, दाजु केशवले भने। केशव पनि परिवारको गुजाराका लागि वैदेशिक रोजगारमा पुगेका छन्। १८ वर्षदेखि केशव मकाउमा बसेर रोजगारी गरिरहेका छन्। उनले आफ्ना दुई भाइको खोजीका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका छन्।

परिवारका अनुसार त्यस बेलादेखि नै आउला घर आउला भन्ने आस अहिलेसम्म उस्तै रहेको छ। हराएका बासु र माधवका माहिलो दाजु केशव सापकोटा भक्कानिँदै भन्छन्, ‘भाइ बासु, तिमीले पठाएका चिठीपत्र अझै पनि ज्यूँका त्यूँ राखेका छौं, हरेकपल्ट पढ्दा आमाको याद आउँछ, जसले तिमीलाई ११ वर्षसम्म खोजिन्, बुवा पनि वृद्ध अवस्थामा निकै कमजोर हुनुुभएको छ, म आफैं १८ वर्षदेखि विदेशमा छु, तिमीलाई विभिन्न माध्यमबाट खोज्ने प्रयास जारी छ, तिमी जहाँ छौं, फर्की आऊ, हाम्रो ढोका तिमीलाई सधैं खुल्ला छ।’

केशव ‘भाइ माधव, यदि तिमी कहीँ सुरक्षित छांै भने घर फर्की आऊ, दुःख सुखसँगै बाँडेर बसौंला, हामी तिमीलाई माया गर्छौं, सम्झन्छौं, यो पीडा धेरै सहन सक्दैनौं’, भन्दै उनीसँगै परिवारका अन्य सदस्यहरू पनि भक्कानिन्छन्। हराएका दुई भाइ माधव र बासुको पुरानो तस्बिर देखाउँदै उनलाई देखेका, चिनेका वा कुनै जानकारी राख्ने जो–कसैलाई जानकारी दिन अनुरोध गरेका छन्।

प्रतिक्रिया