रुबी खातुन हत्या प्रकरण: ससुरा पक्राउ, सासू फरार, राजमार्ग अवरुद्धपछि प्रहरी सक्रिय

Jasus Khabar 3925+ समाचार ( )
४ फाल्गुन २०८२

अजमल अन्सारी

सुनसरी । रुबी खातुनको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले मुख्य अभियुक्तका रूपमा आरोपित ६० वर्षीय दाउद अन्सारीलाई पक्राउ गरेको छ भने उनकी श्रीमती ५० वर्षीया जुलेखा खातुन अझै फरार रहेकी छन्। पक्राउ परेका दाउदलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको प्रहरीले जनाएको छ।


प्रारम्भिक अनुसन्धान अनुसार रुबी खातुनलाई ससुरा–सासूले हत्या गरी आत्महत्या देखाउन पंखामा झुण्ड्याएको आशंका गरिएको छ। पोस्टमार्टम रिपोर्टपछि प्रहरीले आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दर्ता गरेको थियो। तर लामो समयसम्म आरोपितहरू पक्राउ नपरेपछि स्थानीयवासी आक्रोशित बनेका थिए।


आक्रोशित स्थानीयहरूले आज पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शन भोक्राहा नरसिंह गाउँपालिका–४ क्षेत्रमा भएको थियो। सडक अवरोधका कारण केही समय सवारी आवागमन प्रभावित बनेको थियो।


प्रदर्शनपछि प्रहरी टोली सक्रिय भई दाउद अन्सारीलाई नियन्त्रणमा लिन सफल भएको हो। फरार अभियुक्त जुलेखा खातुनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको सुनसरी जिल्ला प्रहरीको भनाइ छ।


स्थानीयले पीडित परिवारलाई न्याय दिलाउन दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। प्रहरीले भने प्रमाणका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने बताएको छ।

प्रतिक्रिया