अख्तियारको स्टेपलाई मैले सकारात्मक रूपमा लिएको छु, भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ : कांग्रेस नेता कँडेल

Jasus Khabar 3925+ समाचार ( )
२४ जेठ २०८२

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री देवेन्द्रराज कँडेलले नीतिगत निर्णय गरेर भ्रष्टाचार गर्ने जो÷कोहीलाई पनि कानूनी कारबाहीको दायराभित्र ल्याउनुपर्नेमा जोड दिएका छन् । उनले भने,‘यदि त्यसमा प्रमाणित हुन्छ, दोषी हुन्छ भने माधव नेपाललाई पनि कारबाही हुनुपर्दछ । यदि क्याविनेट निर्णयमा केही त्रुटि भएका छन् भने त्यसलाई पनि हामीले नियाँल्नुपर्ने हुन्छ । भ्रष्टाचार गर्ने जो भएपनि अनुहार हेरेर होईन उसको गल्ती हेरेर निश्पक्षताको आधारमा छानबिनको दायरामा ल्याउनुपर्छ ।’

आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले जुनसुकै पार्टीको जोसुकै नेता भएपनि भ्रष्टाचार गरेको छ भने कारबाही हुनुपर्नेमा जोड दिए । माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा राजनीतिक प्रतिशोध र गन्ध देख्नुहुन्छ कि हुँदैन भनेर पत्रकार धमलाले राखेको प्रश्नमा उनले भने,‘जति पनि संवैधानिक निकायहरु छन्, उनीहरुको नियुक्तीको हामीले नेताहरुको माध्यमबाट गरेका थियौं, ती संवैधानिक निकायको चयन र छनौट गर्ने प्रक्रिया नै गलत छ । त्यो ठाउँमा पुग्ने मापदण्ड बनाउनुपर्छ । कुनैपनि नेताको आर्शिवादले संवैधानिक निकायको प्रमुख बन्छ भने विभेदबाट अछुतो रहँदैन । स्वतन्त्र रुपमा त्यसको चयन गर्नुपर्छ ।’

अख्तियारले पछिल्लो समय चालेको कदमलाई आफूले सकारात्मक रूपमा नै लिएको उनको भनाई छ । अहिलेको सरकारले काम गरिरहेको पनि उनले दाबी गरे । तर, कुनै अनियमितता भएको छ भने कडाईको साथ निगरानी गरिनुपर्नेमा उनको जोड छ । कँडेलले नेपालले भारत र चीन दुवैको विकासबाट सहयोग लिन सक्नुपर्ने बताए । उनले नेपालले दुवै देशसँग राम्रो सम्बन्ध बनाएर जानुपर्ने बताए । विदेशी सहयोग र लगानीको सही सदुपयोग हुनुपर्ने उनको भनाई छ । उनले नेपाल–भारत सम्बन्धमा देखिएका समस्यालाई वार्ताको माध्यमबाट निकास दिनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया