सामाजिक सञ्जाल: अवसरसँगै जोखिम पनि

Jasus Khabar 3945+ समाचार ( )
४ जेठ २०८३

प्रिन्स स्वर्णकार

सुनसरी। आजकाल सामाजिक सञ्जाल हाम्रो दैनिकीको हिस्सा बनिसकेको छ। बिहान उठेदेखि बेलुका सुत्नुअघि सम्म धेरैजसो समय मोबाइलमै बित्ने गरेको देखिन्छ। म आफैंले पनि आफ्ना वरिपरिका मानिसहरूलाई घण्टौंसम्म अनलाइन बसिरहेको देख्ने गरेको छु।

यसले नयाँ कुरा सिक्न, आफ्ना विचार राख्न र मनोरञ्जन लिन सजिलो बनाएको छ। तर सँगै जोखिम पनि बढ्दै गएको छ।

केही दिनअघि मेरो एक साथी अनलाइन किनमेलका क्रममा ठगीको सिकार भए। उनले Instagram मा कपडा बेच्ने एउटा पेज देखे, जहाँ १० हजारभन्दा बढी फलोअर्स र राम्रो review देखिन्थ्यो। विश्वास लागेर उनले अर्डर गर्न खोज्दा आधा रकम पहिले तिर्नुपर्ने भनियो।

सुरुमा उनले COD मागे, तर “ग्राहकले सामान नलिए डेलिभरी घाटा हुन्छ” भनेर बुझाइयो। त्यसपछि उनले QR मार्फत पैसा पठाए। तर पैसा पुगेन भनियो र “छिटो समाधानका लागि” भन्दै WhatsApp मा screen share गर्न लगाइयो।

त्यही क्रममा बैंकबाट आएको OTP कोड देखेर उनीहरूको account नै access गरियो र थप रकम पनि हरायो।

यस्तो घटना अहिले धेरैमा भइरहेको छ। फेक पेज र नक्कली विश्वासका कारण मानिसहरू सजिलै ठगिने गरेका छन्।

मेरो अनुभवमा पनि धेरैजसो मानिसहरू सामाजिक सञ्जालमा धेरै समय बिताउँदा पढाइ वा काममा ध्यान दिन गाह्रो भएको बताउँछन्।

यसैले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुनु आवश्यक छ। OTP, PIN जस्ता संवेदनशील जानकारी कसैसँग पनि सेयर गर्नु हुँदैन।

अन्ततः, सामाजिक सञ्जाल राम्रो वा नराम्रो होइन, हामीले कसरी प्रयोग गर्छौं भन्ने कुरामा भर पर्छ।

प्रतिक्रिया