सुनसरीमा सशस्त्र प्रहरीको लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतना अभियान

Jasus Khabar 3925+ समाचार ( )
६ वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीले लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको सचेतनामुलक अभियान सुरु गरेको छ । गत बैशाख ४ गते सुनसरीको भण्टावारीबाट सुरु गरिएको अभियान अन्तरगत आज कोशी गाउँपालिका-१ लाैकहीस्थितमा लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।


लागुऔषध ओसारपसारको सङ्गठित जालोलाई तोडी कानुनी कारबाहीलाई तीव्रता दिने उद्देश्यले सुरु भएको अभियान जिल्लाको सीमा क्षेत्रसँग जोडिएको हरेक स्थानीय तहमा कार्यक्रम गरिने जनाइएको छ ।


सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हे.क्वा. सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा भारतीय एसएसबी- ५६ बटालियन, बथनाका 2IC श्री कस्तुरी लाल, सशस्त्र प्रहरी गुल्म हरिपुरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक केदार जङ्ग थापा र सशस्त्र प्रहरी बिओपी लौकहीका सशस्त्र प्रहरी निरीक्षक नारायण प्रसाद गौतम र सशस्त्र प्रहरी बिओपी श्रीपुरका सशस्त्र प्रहरी निरीक्षक जय कुमार महतो लगायत जनप्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी सुनसरीका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाले सीमाक्षेत्रमा सुरक्षाकर्मी मात्र नभई समुदायको सक्रिय भूमिका पनि अत्यावश्यक रहेको बताउनुभयो । वहाँले समाजमै लागुऔषधविरुद्ध व्यापक सचेतनामूलक अभियान चलाउनु पर्नेमा जोड दिनुभयो ।


एसपी थापाले लागुऔषध दुर्व्यसन अहिले समाजमा ठूलो समस्या बन्दै गएको बताउनुभयो । वहाँले भन्नुभयो,' विशेषगरी किशोर–किशोरीहरू यसमा आकर्षित भइरहेका छन्, जुन चिन्ताजनक विषय हो। त्यसैले, हामीले जिल्लाको हरेक ठाँउमै पुगेर जनस्तरमा यसको जोखिमबारे जानकारी दिइरहेका छौं।” उनले भने ।


कार्यक्रममा लागुऔषधको हानिकारक असर, कानुनी प्रावधान तथा दुर्व्यसनबाट जोगिन सकिने उपायहरूबारे जानकारी आदानप्रदान भएको सशस्त्र प्रहरी सुनसरीले जनाएको छ । सीमा क्षेत्रबाट दिनहुँजसो लागुऔषधसहित मानिस पक्राउ पर्दै आएका छन् ।

प्रतिक्रिया

Dr..khalid husain haque ६ वैशाख २०८२, शनिबार

Very good effort. My sincere good wishes.

सम्बन्धित समाचार