झापामा जंगली हात्ती मृत फेला, वरपर अन्य हात्ती बसेकाले घटनास्थलमा पुग्न समस्या

Jasus Khabar 3958+ समाचार ( )
२९ फाल्गुन २०८१

विराटनगर । झापाको जलथलमा बुधबार बिहान एउटा जंगली हात्ती मृत फेला परेको छ। सडिसकेको कारण हात्ती केही दिन अघि नै मरेको अनुमान गरिएको छ।

कचनकवल गाउँपालिका वडा नम्बर-७ स्थित पाथीभरा सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको हो। यस विषयमा सामुदायिक वन उपभोक्ता समितिले डिभिजन वन कार्यालय झापालाई जानकारी गराएको छ।


मृत हात्ती फेला परेको जानकारीपछि डिभिजन वन कार्यालयको टोली त्यसतर्फ गएको छ।


हात्ती के कारणले मरेको हो भन्ने खुल्न बाँकी रहेको डिभिजन वन कार्यालय झापाका अधिकृत जीवन पाठकले जानकारी दिए। उनका अनुसार, ३–४ वटा जंगली हात्ती मृत हात्तीकाे वरिपरि बसेकाले त्यहाँ पुग्न समस्या छ।


बिहानैदेखि त्यहाँ वन कार्यालयका कर्मचारीसहितको टोली परिचालित गरिएको छ।


झापामा आर्थिक वर्ष २०६७/०६८ सालदेखि आर्थिक वर्ष २०८०/०८१ सम्म हात्तीको आक्रमणबाट ६८ जना मानिसको मृत्यु भएको छ। यस अवधिमा २१ वटा हात्ती पनि मृत फेला परेका छन्। हात्तीको आक्रमणबाट मृत्यु भएकामध्ये ८ जना गैर नेपाली रहेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया