सुन्दर र पर्यटकीय नगरीका रूपमा परिचित छ पोखरा । प्राकृतिक मनोरम ताल अनि नजिकै देखिने हिमालदेखि अचम्म लाग्दो सेतीको खोँच । पाताल छाँगो, गुप्तेश्वर, चमेरे र महेन्द्र गुफा अनि विविध जातजातिको टम्म मिलेको बस्ती । यी र यस्तै विशेषताले चिनाएको छ पोखरालाई । >
यति राम्रो पोखरामा बस्ती विकास र निर्माणबीचको तालमेल नमिल्ला असाध्यै अस्तव्यस्त बनेको छ । पोखराले विकासको दूरदृष्टि बोकेको राजनीतिक र प्रशासनिक नेतृत्व पाउन नसकेको भनेर बेलाबेलामा आलोचना भइरहन्छ ।>
पोखराको विकासका सवालमा पोखराले सधैँ स्मरण गर्ने व्यक्ति हुन तत्कालीन अञ्चालाधीश शंकरराज पाठक । त्यसो त पाठक पहिला विकास अधिकृतका रूपमा पोखरा खटिएका थिए । पछि उनै पाठक गण्डकीको पहिलो अञ्चालाधीश भएर आए । >
उनले पोखराको योजनाबद्ध विस्तारका लागि ऐतिहासिक कामहरू गरे । उनको नेतृत्वमा चिप्लेढुंगा–सद्गृहचोक खण्डमा न्युरोड निर्माण गरियो, जुन पोखराको मुख्य व्यापारिक केन्द्र बनेको छ । उनले नक्सा पास प्रणाली सुरु गरे जसले घर र संरचनाहरूलाई अनुशासित बनायो ।>
पोखरालाई आधुनिक शहरतर्फ रूपान्तरण गर्न उनले सडक विस्तार, बसोबास क्षेत्रको व्यवस्थापन, र सार्वजनिक सेवाहरूको पहुँच सुनिश्चित गरे। अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता पहिचान गरी त्यसको जग हाल्ने काम पनि उनले नै सुरु गरेका थिए।>
पोखरालाई गण्डकी अञ्चलको प्रशासनिक केन्द्र बनाउँदै, अञ्चल अस्पताल, सरकारी विद्यालयहरू, सडक सञ्जाल, र सिँचाइ परियोजनाहरूको सशक्तीकरण गरे। स्थानीय तह, नागरिक समाज र सरकारी संयन्त्रबीच सहकार्य गरी सुशासन प्रवर्द्धन गर्नेतर्फ उनी लागे। धार्मिक, पर्यटकीय र सांस्कृतिक स्थलहरूको संरक्षणमा पनि उनको सक्रियता रह्यो। उनका यी पहलहरूले पोखरालाई सुन्दर, व्यवस्थित र दिगो विकासको दिशामा अगाडि बढायो।>
पोखरा बाहिरको व्यक्तिले पोखरालाई यति सारो माया गरे । विकासको अभियान चलाए तर त्यसपछि यहाँको विकासका लागि स्मरणयोग्य कामहरू निकै कम भएका छन् । जति प्रयास गरिएका छन् ती प्रचारमा मात्र सीमित छन् । दीर्घकालीन महत्त्व राख्ने खालका छैनन् । >
यसै सन्दर्भमा नेपाली कांग्रेस, कास्कीले पोखराको दिगो, समावेशी र दीर्घकालीन विकासका लागि समग्र अवधारणा पत्र सार्वजनिक गरेको छ। ‘पोखरा कस्तो बनाउने ? कसरी बनाउने ?’ भन्ने मूल प्रश्नका आधारमा तयार पारिएको प्रतिवेदन बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।>
नेपाली कांग्रेस, कास्कीका सभापति किशोरदत्त बरालले अवधारणा सार्वजनिक गर्दै पोखरा नेपालको सांस्कृतिक, प्राकृतिक र शैक्षिक सञ्जालले समृद्ध सहर भए पनि त्यसको समुचित र योजनाबद्ध उपयोग नहुँदा अवसर खेर गएको बताए। नागरिक सरोकार, युवा सपना र सामूहिक प्रयासलाई समेटेर यो अवधारणा तयार पारिएको उनले बताए। उनले यसलाई कुनै पार्टीको घोषणापत्र नभई भविष्यको पोखराको साझा खाका भने।>
देश तथा विदेशमा रहेका पोखरालाई माया गर्ने ५३५ जना व्यक्तिहरूबाट प्रत्यक्ष वा परोक्ष सुझाव संकलन गरिएको छ। भौतिक अन्तरक्रियाबाट २५० जना, अनलाइन फारमबाट १२७ जना, मेसेन्जरबाट ८२ जना र इमेलमार्फत ७६ जना सहभागी भएका थिए।>
अवधारणामा जनउत्तरदायी शासन प्रवर्द्धनका लागि ‘नागरिक ड्यासबोर्ड’ को अवधारणा अघि सारिएको छ। यसले सेवा, बजेट, निर्णय र कार्यान्वयनमा नागरिकको प्रत्यक्ष निगरानी सुनिश्चित गर्ने भनिएको छ। यातायात व्यवस्थापनको सन्दर्भमा पोखरालाई हरियाली, सुरक्षित र स्मार्ट सहर बनाउने लक्ष्यसहित विद्युतीय सवारी, साइकल र पैदल यात्रुलाई प्राथमिकता दिने तथा सहरका प्रमुख स्थानमा ‘नो कार जोन’ लागू गर्ने प्रस्ताव गरिएको छ।>
स्वास्थ्य क्षेत्रका लागि ‘मोबाइल क्लिनिक नेटवर्क’ स्थापना गरी गाउँगाउँमा सेवा पुर्याउने, शिक्षामा ‘त्रिकोण शिक्षा परियोजना’ अन्तर्गत ‘जीवन सीप प्रयोगशाला’ र ‘एक विद्यालय, एक उद्यम’ कार्यक्रम लागू गर्ने उल्लेख छ। युवालाई प्रविधिमा आधारित स्वरोजगारमा जोड्न ‘डिजिटल उद्यमशीलता विकास केन्द्र’ स्थापना गर्नुपर्ने आवश्यकतामा समेत कांग्रेस, कास्कीले बल दिएको छ।>
फोहोरमैला व्यवस्थापनका लागि वडा(स्तरमै कम्पोष्ट मल केन्द्र स्थापना गरिने र सहरी कृषि प्रवर्द्धन गरिने उल्लेख छ। सांस्कृतिक सम्पदाको डिजिटाइजेसन, ‘ज्ञान, नवप्रवर्तन तथा संस्कृति केन्द्र’ स्थापनाजस्ता योजनाले पोखरालाई मौलिक र सिर्जनात्मक बनाउने विश्वास गरिएको छ।>
पोखरा औद्योगिक क्षेत्रको पुनःसंरचना, ‘मेडिकल तथा वेलनेस टुरिजम केन्द्र’, ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’ स्थापना तथा ‘पोखरा साहसिक खेल महोत्सव’ आयोजना गरी पर्यटन प्रवर्द्धन गरिनेछ। ग्रामीण उत्पादनलाई सहरको बजार र प्रशोधनसँग जोड्न ‘गाउँ–सहर साझेदारीमा आधारित उत्पादन चक्र परियोजना’ प्रस्ताव गरिएको छ।>
प्रतिवेदनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, फेवाताल, बेगनास र रुपातालको संरक्षण, विद्यालय शिक्षाको गुणस्तर, राजस्व संकलन प्रणालीको सुधार, फोहोरमैला व्यवस्थापन, सुशासन प्रवर्द्धन र औद्योगिक पुनर्संरचनालाई विशेष प्राथमिकता दिएको छ।>
सभापति बरालले पोखराको विकास केवल संरचना निर्माणमा सीमित नरहने, समृद्धि, न्याय र नवप्रवर्तनले निर्देशित सहर निर्माणको दिशातर्फ कांग्रेस, कास्की अघि बढ्ने स्पष्ट पारे। उनले यो अभियान आगामी वर्षहरूमा थप वैज्ञानिक र परिपक्व बनाउँदै निरन्तरता दिइने प्रतिबद्धता समेत जनाए।>
बरालले अवधारणा तयार पार्ने क्रममा सहयोग, सुझाव र साथ दिने सबैप्रति आभार व्यक्त गर्दै पोखरा रूपान्तरणको अभियानमा सबैको सहभागिता आग्रह गरे। यसरी तयार पारिएको अवधारणा पोखरा महानगर र प्रदेश सरकारलाई हस्तान्तरण गरी कार्यान्वयनका लागि दबाब दिने उनको भनाइ छ । >
पोखरा महानगरमा कांग्रेसको समर्थनमा जितेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्य मेयर छन् । मेयर आचार्यको कार्यशैलीप्रति कांग्रेसले बारम्बार असन्तुष्टि जनाउँदै आएको छ । त्यसो त ३३ वडा रहेको पोखरामा २३ वटा वडामा कांग्रेसकै वडाध्यक्षहरु छन् । तर उनीहरुले नीतिगतरुपमा दरिलो उपस्थिति देखाउन सकेका छैनन् । >
पार्टीको अवधारणा कार्यान्वयनका लागि वडाध्यक्ष र जनप्रतिनिधिहरूलाई समेत दबाब दिने सभापति बरालको भनाइ थियो ।
लामो समय शिक्षण पेसा र शिक्षक आन्दोलनमा लागेका बराल पछिल्लो महाधिवेशन ताका जिल्ला सभापतिमा विजयी भएका हुन् । >>