सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु ठूलो कमिसनको मोहमा परेर टेण्डर नगरी योजना टुक्राएर कोटेसनमा काम गराउने, एउटै कामको लागि दुई कम्पनीलाई जिम्मा दिनेदेखि अर्कै ठेकेदारले गर्नु पर्ने काममा दुई जनालाई पुन जिम्मेवारी दिई भुक्तानी गराउने सम्मको अनियमितपूर्ण काममा मस्त रहेको पाइएको छ ।>
भोक्राहा नरसिंह गाउँपालिकाले सार्वजनिक खरिद ऐन २०६३ को नियम र ऐन विपरित निर्माण कार्य गर्दा बोलपत्र आह्वान नगरी योजनालाई टुक्रा टुक्रा पारेर सोझै निर्माण कार्य गरेको एक करोड बढी रकममा अनियमितता गरेको महालेखाले ठहर गरेपछि सो खेलको खुलासा भएको हो ।>
>
महालेखा परिक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०८०/०८१ को लेखा परिक्षण प्रतिवेदनमा भोक्राहा नरसिंह गाउँपालिकाले बजेटको ठूलो अंश सोझै खरिद गर्ने उद्देश्यबाट टुक्रा टुक्रा बनाएर बाँडफाँड गरी एक करोड पाँच लाख ४१ हजार नौ सय दुई रुपैया सोझै खरिद गरेको कार्यलाई अनियमितता भएको ठहर गरेको हो ।>
सार्वजनिक खरिद कार्यको ऐन नियमावली विपरितका अधिकांश योजनाहरु बाटोमा माटो पुर्ने प्रकृतिको पाइएको हुँदा पालिकाले प्रत्येक वर्ष एउटै स्थानमा माटो पुर्ने कार्यमा ठूलो रकम खर्च गर्नु र प्रतिष्पर्घा नगराउनु उचित नभएको प्रतिवेदनले उल्लेख गरेको छ ।>
>
हरेराम निर्माण निर्माण सेवालाई वडा नम्बर ३ चम्पालाल यादवको घरदेखि दक्षिण लक्ष्मण यादवको घरसम्म सडक मर्मत कार्य खर्च भनि ९ लाख ६४ हजार छ सय ७२ रुपैया सोझै खर्च गरिएको छ ।>
>
त्यस्तै मल्निेसनल कन्ट्रक्सन बुढी गंगा मोरङका नाममा वडा नम्बर ६ उल्टीखोला खालिद प्रधानको घर छेउ कब्रिस्तान बाटोमा माटो पुर्ने कार्य वापत ९ लाख ५७ हजार १०५ रुपैया अनियमित रुपमा खर्च गरिएको छ ।>
>
त्यस्तै एलिसा निर्माण सेवा कोशी सुनसरीका नामबाट वडा नम्बर ३ का विभिन्न बाटो मर्मत कार्यका लागि ९ लाख ६३ हजार ४३७ रुपैया अनियमित रुपमा खर्च गरिएको छ ।>
>
त्यसैगरी विष्णु निर्माण सेवा भोक्राहा ३ का नामबाट वडा नम्बर ७ को पिपलचोकदेखि पूर्व भागवत यादवको घरसम्म माटो पुरी ग्रावेल खर्च बापत ९ लाख ५७ हजार ९५८ रुपैया भुक्तानीलाई अनियमित खर्च भनिएको छ ।>
>
सरिता निर्माण सेवा इनरुवा १० का नाममा पालिका परिषर भित्र माटो भर्ने कार्यको लागि ९ लाख ६२ हजार ८७६ रुपैया, समिक्षा निर्माण सेवा इनरुवालाई पनि कार्यालय परिषर भित्रै माटो पुर्ने कार्यका लागि ९ लाख ६२ हजार ५६६ रुपैया भुक्तानी दिइएको छ । जबकी आर्शिवाद निर्माण सेवालाई पालिका कार्यलय भवन निर्माणको लागि ठेक्का टेण्डर दिएको अवस्थामा पालिकाले अलग रुपमा भुक्तानी दिएको हो । जबकी प्रशासनिक भवनसँगै माटो पुर्ने कार्यको जिम्मेवारीसमेत आर्शिवादलाई नै थियो ।>
>
त्यस्तै मातृ निर्माण सेवा इनरुवा ९ लाई वडा नम्बर ६ चिरौली चोक राजमार्ग छेउको विभिन्न ठाँउमा माटो पुर्ने कार्यको लागि ९ लाख ५८ हजार ४४१ रुपैया, सोही प्रकृतिको सोही स्थानमा सफाज निर्माण सेवा इनरुवा १० लाई ९ लाख ६५ हजार ३५३ रुपैया भुक्तानी दिईएको छ ।>
>
माटो पुर्ने योजनामा मात्रै करोडौं खर्च !>
>
त्यसैगरी कावा निर्माण सेवा इनरुवा १० लाई पारसलाल उराँवको घरदेखि लक्ष्मण मेहताको घर जानेसम्म बाटोमा माटो पुरी ग्रावेल हाल्ने कार्यका लागि ९ लाख ६७ हजार २०२ रुपैया, महेश्वरी निर्माण सेवा कोशी ३ लाई वडा नम्बर ३ महानन्द मेहताको घरदेखि बौवालाल मेहताको घरसम्म माटोपुर्ने कार्यको लागि ९ लाख १३ हजार ४५३ रुपैया, जमुना निर्माण सेवा गढी १ लाई वडा नम्बर १ को टोपी टोल मस्जिदमा निर्माण तथा विभिन्न बाटो मर्मतको लागि ९ लाख ६५ हजार ८३९ रुपैया रुपैया खर्च गरिएको छ । जसलाई महालेखाले अनियमित भनेको छ ।>
>
ठेक्का पाएको कम्पनीको जिम्मेवारी अर्को फर्मलाई !>
>
महालेखा प्रतिवेदनले भनेको छ, ‘एउटै निकायले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ (१ख) अनुसार एक आर्थिक वर्षमा एकै पटक वा पटक पटक सीमाभन्दा बढीको रकम वा एउटै ब्यक्ति फर्म वा कम्पनीबाट एक पटक भन्दा बढी सोझै खरिद गर्न नहुने ब्यवस्था छ । त्यसैगरी सार्वजनिक निकायले एउटै प्रकृतिको २० लाख सम्म लागत अनुमान भएको योजना वा मालसमान खरिद गर्दा शिलबन्दी दरभाउको माध्यमबाट एउटै प्याकेज बनाई खरिद गर्नु पर्ने ब्यवस्था विपरित पालिकाले बजेट टुक्रा पारी सोझै खरिद गरेको हुँदा एक करोड ५ लाख ४१ हजार ९०२ रुपैया खर्च गरेको औचित्य पुष्टि हुने आधार देखिएन ।’>
>
>
कमिसनकै लोभमा टेण्डर नखुलाउने चलन>
स्रोतका अनुसार टेण्डर प्रक्रियामा प्रतिस्पर्धा हुँदा आर्थिक अनियमितताको सम्भावना न्यून हुने भएकाले जनप्रतिनिधि र कर्मचारीहरू मिलेर योजना टुक्र्याउने, कोटेसनमार्फत मनपरी भुक्तानी गर्ने अनि कमिसन बाँडफाँड गर्ने चलन छ । यसरी काम गर्नेले आधा रकम र बाँकी पालिकाका पदाधिकारीले भागबण्डा गर्ने चलन सुनसरी जिल्लामै भोक्राहा नरसिंह गाउँपालिका अगाडि देखिएको छ ।>
>
>
नियत नै अनियमितता गर्न !>
योजनालाई सानो देखाएर प्रतिस्पर्धा विहीन तरिकाले काम गराउनु, एउटै कम्पनीलाई पटक–पटक भुक्तानी गर्नु, टेण्डर नखोलेर सिधै मनपरी दररेटमा रकम वितरण गर्नु, एकै ठाउँमा पटक–पटक माटो पुर्ने नाटक गर्नु, यी सबै कार्य सुनियोजित रुपमा आर्थिक चलखेल र अनियमितताका नमूना हुन् भन्नेमा कुनै शंका छैन ।>
>