पर्साको पकहाँ मैनपुर गाउँपालिकाको गाउँपरिषद अहिलेसम्म हुन नसक्दा त्यहाँ करार र ज्यालादारीमा कार्यरत ६५ भन्दा बढी कर्मचारीले विगत ६ महिनादेखि तलब पाउन सकेका छैनन्। अहिले दशैंमा पनि उनीहरू तलब भत्ता पाउनबाट बञ्चित भएका छन्। >
गाउँपालिका अध्यक्ष सुरेश मेहताको हठका कारण गत असारमै हुनुपर्ने गाउँ परिषद् अहिलेसम्म पनि हुन नसक्दा आफूहरूले गत चैतदेखि तलब भत्ता पाउन नसकेको कर्मचारीहरूको गुनासो छ। >
पकहाँमैनपुर गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ का लागि संघ सरकारले विकास खर्चतर्फ ८ करोड ६५ लाख रुपैयाँ छुट्याए पनि अध्यक्ष मेहताले एकलौटी ढंगले १६ करोडको बजेट सूत्रमा राख्नुपर्ने अडान लिँदै आएकाले परिषदमा ढिलाइ भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले बताए।>
उनका अनुसार पालिकामा आएको बजेटभन्दा दोब्बरको योजना बनाउँदा कामको भुक्तानी असम्भव हुने स्पष्ट हुँदा हुँदै पनि अध्यक्ष मेहताले बारम्बार बैठक छाड्ने र सहमति नखोज्ने प्रवृत्तिले समस्या गहिरिएको हो। ‘गाउँ परिषद् सम्पन्न गरी आफूलाई अख्तियारी दिए दुई दिनमै तलब दिन सक्छु,’ अधिकृत साहले भने। करार र ज्यालादारीका कर्मचारीले विगत ६ महिनादेखि तलब नपाउँदा चाडबाडमै आर्थिक संकट झेल्न बाध्य भएको प्रमुख प्रशासकीय अधिकृत साहको गुनासो छ।>
वडा नम्बर १ का वडाध्यक्ष विनोद मेहताले पालिका अध्यक्ष मेहताको व्यक्तिगत स्वार्थ र हठकै कारण गाउँपालिकालाई अनिर्णयको बन्दी बनाएर सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीलाई दुःख दिएको आरोप लगाए। उनका अनुसार संघ सरकारले छुट्याएको ८ करोड ६५ लाख मध्ये ५ वटा वडाका लागि ८०–८० लाख गरी ४ करोड, गाउँपालिका उपाध्यक्षलाई १ करोड २० लाख र गाउँपालिका अध्यक्षलाई ३ करोड ४५ लाख बराबरको योजना दिने सहमति भएको थियो। तर, गाउँपालिका अध्यक्ष मेहताले त्यसलाई नमान्दै १६ करोडको योजना शीर्षकमा राख्नुपर्ने दबाब दिँदा गाउँ परिषद् हुन नसकेको वडाध्यक्ष मेहताले बताए।>
‘जनताको भोटबाट हामी पनि जितेका हौं, विकास गर्ने बजेट हामीलाई चाहिएन र ?’ वडाध्यक्ष विनोद मेहताले भने। यसैबीच गाउँ परिषद् लामो समयदेखि नबोलाइएपछि गाउँपालिका उपाध्यक्षसहित ५ वटै वडाध्यक्षले लिखित रूपमा परिषद् बोलाउन माग गरेका छन्। तर, गाउँपालिका अध्यक्ष मेहताले अहिलेसम्म स्पष्ट मिति नतोकेका कारण गाउँपालिकाका सम्पूर्ण काम अवरुद्ध बनेको छ।>
>>>>>