दशैं पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो

Jasus Khabar 1+ समाचार ( )
१७ अशोज २०८१

दशैं पर्वको तयारीमा मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ। च्याङग्राको सङ्ख्या बढेपछि र विगतका वर्षमा महंगो मूल्यमा बिक्री गरिएका च्याङग्राको मुल्य  यस  वर्ष बिक्री मूल्य घटाएका हुन्।

गत वर्ष, व्यापारिहरूले खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका थिए, जबकि यसपाली ३० देखि ३३ हजारमा किसानबाट खरिद गरिएको जानकारी प्राप्त भएको छ।

एक व्यापारीले भने, “ठाउँ अनुसार च्याङग्राको मूल्य पाँचदेखि १० हजार कम भएकोले बिक्री गर्ने मूल्य पनि घटाएका छौँ। गत वर्ष काठमाडौ र पोखरामा प्रतिगोटा ५५ हजार रुपैयाँसम्म पुगेको च्याङग्राको मूल्य यसपाली रु. ४५ हजारभन्दा कम हुनेछ।” उनले गत वर्ष बजारमा महँगो च्याङग्राको कारण व्यापारीहरूले नोक्सान भोग्नुपरेको गुनासो पनि गरे।

मुस्ताङ, डोल्पा र मुगुबाट ल्याइएका च्याङग्राहरू अहिले दसैमा बिक्रीका लागि म्याग्दी हुँदै देशका विभिन्न सहरका बजारमा पुग्न थालेका छन्। म्याग्दी, कास्की, पर्वत, बागलुङ र काठमाडौ लगायतका ठाउँबाट व्यापारीहरू च्याङग्रा खरिद गर्न मुस्ताङ पुग्न थालेका छन्।

जडिबुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थ मानिन्छ। दसैं र तिहारका अवसरमा हिमाली च्याङग्राको मासुको खपत बढी हुने गरेको छ। यस वर्ष दशैंका लागि मुस्ताङबाट दश हजार च्याङग्रा बिक्री हुने अनुमान गरिएको छ। मुस्ताङबाट म्याग्दीको बेनीसम्म च्याङग्राहरू दुईदेखि तीन दिन हिँडाएर ल्याइन्छ र बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा पठाइन्छ।

तीन वर्ष उमेर भएका च्याङग्राहरू मासुका लागि बिक्री हुने गर्छन्। मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन्।

प्रतिक्रिया