झुम्का कारागारबाट जबरजस्ती करणी मुद्दाका कैदी फरार

Jasus Khabar 3945+ समाचार ( )
२८ श्रावण २०८२

सुनसरी। सुनसरीको झुम्का कारागारबाट एक कैदी फरार भएका छन्।

जबरजस्ती करणी मुद्दामा कारावास भोगिरहेका खोटाङ दिप्रुङ चुईचुम्पा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेल खत्री बुधवार बिहान कारागारको वाल नाघी फरार भएका हुन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीका अनुसार बी ब्लकमा रहेका खत्रीले मुढा बनाउने उद्योग छेउबाट बासको सहारामा करिब १६ फिट उचाइको पर्खाल नाघेका हुन्।

"अनुसन्धानको क्रममा बुधवार बिहान तिर भागेको देखिन्छ," डिआइजी कार्कीले भने, "बिहानैदेखि प्रहरी परिचालन गरी खोजतलास भइरहेको छ। फरार कैदी चाँडै पक्राउ पर्छन्।"

कारागारको बाहिरी सुरक्षा सशस्त्र प्रहरीको कमान्डमा रहेको छ। सशस्त्र प्रहरीका डिएसपी राजेश श्रेष्ठको कमान्डमा रहेको टोलीलाई छानबिनका लागि खटाइएको सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी पकलीका डिआइजी कुमार न्यौपानेले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार आन्तरिक प्रशासनको रात्रि सुरक्षा ड्युटीमा खटाइएका खत्रीले कारागारभित्र उपलब्ध बासका सामग्री प्रयोग गरी पर्खाल नाघेर फरार भएका हुन्। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया