नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले पद तथा गोपनीयताको सपथग्रहण गरेसँगै दलहरू नयाँ सरकार गठनको गृहकार्यमा थप व्यस्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि तोकेको मिति नजिकिएसँगै नयाँ नेतृत्वका लागि दलका शीर्ष नेताहरूमा दबाब बढेको छ ।
>
राष्ट्रपति भण्डारीले १० पुसको अपरान्ह ५ बजेभित्र दलहरूलाई प्रधानमन्त्रीका लागि दाबी पेस गर्न समय दिएकी छन् । राष्ट्रपतिले निर्धारण गरेको समय आउन दुई दिन बाँकी रहँदा पनि दलका शीर्ष नेताहरूबीच भने सहमति जुट्न सकेको छैन ।
>
४ मंसिरमा सम्पन्न निर्वाचनबाट कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेनन् । जसकारण पनि प्रधानमन्त्रीका लागि दाबी पेस गर्न विलम्ब हुने देखिएको हो । >
सरकारको नेतृत्वका लागि विशेषगरी अहिले सत्ता गठबन्धनमै आबद्ध दलका शीर्ष नेताबीच छलफल भइरहेको छ । यद्यपि आफ्नो अडानमा लचिलो नबन्दा उनीहरूबीच सहमति जुट्न सकिरहेको छैन ।
>
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले पहिलो दुई वर्ष आफ्नो नेतृत्वमा सरकार हुनुपर्ने दाबी गर्दै आएको छ । >
गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रले पनि सोही दाबी गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुट्न सकेको छैन ।
>>