सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण

Jasus Khabar 3958+ समाचार ( )
५ श्रावण २०८२

पर्साको पटेर्वासुगौली गाउँपालिकाले पालिकाभित्रका  सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्रीसहितको कोसेली वितरण गर्न सुरु गरेको छ। पालिकाको बर्थिङ सेन्टरमा सुत्केरी गराएका महिलाहरूलाई गाउँपालिकाले घीउ, मसूरोको दाल, चना, बोडीको गेडालगायतका सामग्रीसहितको सुत्केरी कोसेली वितरण गर्न थालेको हो।  

गतवर्षदेखि सुरु भएको काेसेली वितरण यस वर्ष आइतबारदेखि ‘उपाध्यक्ष सुत्केरी कोसेली वितरण कार्यक्रम’अन्तर्गत सुत्केरी महिलालाई काेसेली वितरण गर्न थालिएको गाउँपालिकाकी उपाध्यक्ष ममता महत्तोले जानकारी दिइन्। 

आइतबार वडा नम्बर ४ मा रहेको आधारभूत अस्पतालमा गाउँपालिकाका अध्यक्ष दिनेश प्रसाद चौधरी र उपाध्यक्ष महत्तोले ५१ जना सुत्केरी महिलालाई काेसेली वितरण गरेको स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवले जानकारी दिए। 

त्यस्तै वडा नम्बर २ गादी र वडा नम्बर ५ निचुटास्थित बर्थिङ सेन्टरका सुत्केरी महिलाहरूलाई काेसेली वितरण गरिएको छ।  

‘उपाध्यक्ष सुत्केरी कोसेली वितरण कार्यक्रम’अन्तर्गत यसवर्ष ४ सय जना सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गर्ने लक्ष्य रहेको गाउँपालिका उपाध्यक्ष महत्तोले बताइन्। 

प्रतिक्रिया