अजमल अन्सारी>
सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशी र कोका खोलाको संगमस्थल कोशी नदीमा एक वृद्ध पुरुषले हामफालेर आत्महत्या प्रयास गरेको घटना सार्वजनिक भएको छ ।>
मंगलवार दिउँसो करिब १२:४० बजेको समयमा स्थानीय बासिन्दाले एक पुरुष नदीमा हामफालेको जानकारी प्रहरी चौकी बराहक्षेत्रलाई गराएका थिए । सूचना प्राप्त गरेलगत्तै प्रहरी चौकी बराहक्षेत्रका प्रहरी सहायक निरीक्षक युवराज खत्रीको कमाण्डमा टोली खटिएको थियो ।>
>
घटनास्थलमा पुग्दा कालो ह्याण्ड ब्याग फेला परेको प्रहरीले जनाएको छ । ब्याग खोल्दा भित्र बराहक्षेत्र मन्दिर संरक्षण समितिको रसिद, एक थान नोकीया मोवाइल र दुईवटा कागजको पाना फेला परेको छ ।>
>
उक्त कागजमा ‘मेरो घर मोरङ, केरावारी ७ दाहाल चोकमा हो । मेरो झोलामा फोन छ, निकालेर दयालु मित्रजनले ९८१४९२२१९१ मा फोन गरिदिनुहोला’ भनी लेखिएको थियो । अर्को पानामा ‘खाना रुचि नभएर जीवन सुकेर जाने भयो, त्यसैले सप्तकोशीमा जलदेवतालाई अनुरोध गरी हामफालेको छु, मनुष्यलोकका मित्रहरूलाई मेरो तर्फबाट बाई बाई’ लेखिएको आत्महत्या नोट समेत भेटिएको प्रहरीको भनाइ छ ।>
>
प्रहरी अनुसन्धानका क्रममा उक्त व्यक्ति मोरङ, केरावारी नगरपालिका–७ दाहाल चोक निवासी ७२ वर्षीय मक्कर बहादुर तामाङ (घिसिङ) रहेको खुलेको छ ।>
>
घटनास्थलमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक विकास राई र चतराबाट प्रहरी नायब निरीक्षक राजन खड्काको नेतृत्वमा टोली खटिएको छ । साथै सशस्त्र प्रहरी सुरक्षा बल नेपाल बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक सिताराम श्रेष्ठको कमाण्डमा गोताखोरको चारजनाको टोली परिचालन गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।>
>