अवैध मदिरा तस्करी: सुनसरी प्रहरीको ठुलो सफलता, ठूलो परिमाणमा मदिरा बरामद

Jasus Khabar 3925+ समाचार ( )
२१ आषाढ २०८२

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले अवैध मदिरा तस्करी नियन्त्रणमा ठुलो सफलता हात पारेको छ। कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा अवैध रुपमा भारतबाट ल्याइँदै गरेको ठूलो परिमाणको मदिरा बरामद गर्न सफल भएको हो।


गएराति करिब साढे ८ बजे अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट पोखरा जाँदै गरेको GAA 0188 नम्बरको यात्रुबाहक बस रोकी चेकजाँच गर्दा बसको साइड डिक्कीमा लुकाएर राखिएको OLD MONK DELUXE RUM (७५० एमएल) ३५९ बोतल र ROYAL STAG (७५० एमएल) १२ बोतल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


प्रहरीका अनुसार सो मदिरा कास्की जिल्ला पार्चे गाउँपालिका–१ निवासी ४५ वर्षीय खगेन्द्र सिंह गुरुङको भएको खुलेको छ। गुरुङलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले भने, “अवैध मदिरा तस्करी रोकथाम र राजस्व चुहावट नियन्त्रणका लागि सुनसरी प्रहरीले विशेष निगरानी बढाइरहेको छ। यसपटक ठूलो परिमाणको मदिरा बरामद हुनु हाम्रो टोलीको ठुलो सफलता हो।”


बरामद मदिरा तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरी पठाउने प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।


यस घटनाले सीमा क्षेत्रमा सक्रिय मदिरा तस्करी नेटवर्कमाथि पुनः प्रश्न उठाइरहेको छ भने सुनसरी प्रहरीले यस किसिमका अवैध क्रियाकलाप नियन्त्रणमा चालेको कडाईलाई स्थानीयवासीले स्वागत गरेका छन्।


प्रतिक्रिया