सफा पब्लिकको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

Jasus Khabar 3925+ समाचार ( )
२६ वैशाख २०८२

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ सोनयाहीस्थित सफा पब्लिक स्कुलमा तेस्रो दुईदिने शैक्षिक तथा सांस्कृतिक प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गत बुधबारदेखि सुरु भएको उक्त कार्यक्रम बिहीबार राति विविध सांस्कृतिक प्रस्तुति र पुरस्कार वितरणका साथ सम्पन्न भएको हो।


विद्यार्थीहरूको प्रतिभा प्रष्फुटन, शिक्षाको महत्वबारे सचेतना र आपसी भाइचाराको सन्देश दिन आयोजित प्रतियोगितामा छात्रछात्राहरूले विभिन्न सांगीतिक, नृत्य, कविता वाचन, चित्रकला तथा वक्तृत्वकला प्रतियोगितामा आफ्नो प्रतिभा देखाएका थिए।


कार्यक्रममा प्रमुख अतिथि जियाउल हक मेमोरियल च्यारिटी ट्रस्ट धरानका अध्यक्ष डाक्टर खालिद हुसैनले शिक्षा क्षेत्रमा गुणस्तरीय सुधारका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए। “हाम्रो समाजमा शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ। गुणस्तरीय शिक्षा र संस्कृतिको संरक्षणले मात्र भविष्य सुरक्षित हुन्छ,” उनले थपे,'' शिक्षा भनेको केवल किताबको ज्ञान मात्र होइन, व्यवहारिक सीप र कला पनि हो। यस्ता कार्यक्रममा सहभागी भएर विद्यार्थीहरू बहुआयामिक प्रतिभा विकास गर्न सक्छन्,” उनले भने ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक आसिफ अन्सारीले कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक र अतिथिहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ स्तरीय कार्यक्रम आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे । अन्सारीले शिक्षाले मात्र समाजको विकास सम्भव हुने बताउँदै यस्तो कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।


समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। दुई दिनसम्म चलेको उक्त कार्यक्रममा स्थानीय बासिन्दा तथा अभिभावकको समेत उल्लेख्य उपस्थिति रहेको विद्यालयले जनाएको छ।



प्रतिक्रिया

सम्बन्धित समाचार