'जाउँ है पाेखरा' अभियान लिएर कर्णाली पुगे पाेख्रेली

Jasus Khabar 3925+ समाचार ( )
१ आषाढ २०८२

कर्णाली र गण्डकी प्रदेशकाे आन्तरिक पर्यटन प्रवर्द्धनकाे अभियान लिएर पाेखराका हाेटल व्यवसायीहरू कर्णाली पुगेका छन् । आन्तरिक पर्यटकमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हाेटल संघ पाेखरा 'जाउँ है पोखरा' अभियान लिएर कर्णाली पुगेकाे हाे ।

आन्तरिक पर्यटक नै दिगाे पर्यटन विकास भन्ने मूल मर्मका साथ घुम्ने बानीकाे विकास गराउन अभियान लिएर पश्चिम नेपालकाे यात्रामा निस्किएकाे हाेटल संघ पाेखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । कर्णाली र गण्डकी प्रदेशकाे पर्यटकीय सम्भावना केलाउँदै पर्यटकलाई अन्तरप्रदेश आवतजावतमा जोड्नु अभियानकाे मुख्य उद्देश्य रहेकाे उनले बताए ।

'नेपालीहरूको भ्रमण गर्ने संख्यामा वृद्धि हुँदै गएको अवस्थामा विदेशी मात्र नभई स्वदेशी पनि पर्यटक हुन् भन्ने मान्यतालाई अनुशरण गर्दै पर्यटनका माध्यमबाट सातै प्रदेश जोड्ने हाम्रो उद्देश्य हो,' उनले भने । गत वर्षकाे फागुनमा पूर्वी नेपालका विभिन्न शहरमा अभियान सम्पन्न गरिएकाे उनले बताए ।

होटल संघ पोखराले दुई दशकअघि सुरु गरेकाे अभियानले आन्तरिक पर्यटक नै दिगो पर्यटनको आधार हुन् भन्ने मान्यता अनुरुप आन्तरिक पर्यटन प्रवर्द्धनमा विशेष जोड दिँदै आएकाे उनले बताए । उद्याेग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा २९ जेठदेखि आगामी २ असारसम्म पश्चिम नेपालका बुटवल, नेपालगञ्ज, सुर्खेत र दाडमा अभियान सञ्चालन हुन लागेकाे उनले बताए । 

'यस क्षेत्रका पर्यटकलाई पोखरा भ्रमण गर्न निमन्त्रणा गर्ने र पोखराबाट समेत पर्यटकलाई पश्चिम ल्याउने हाम्रो अर्काे उद्देश्य हो,' उनले भने, 'साथै पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष-२०२४ लाई सफल बनाउनसमेत हाम्रो अभियान सार्थक हुनेमा हामी विश्वस्त छौँ ।'

प्रतिक्रिया