प्रदेश सरकारको सडक योजनामा विवाद : वार्ता अघिनै प्रदर्शन, सेवाग्राहीसँग झडप

Jasus Khabar 3951+ समाचार ( )
९ आषाढ २०८३

अजमल अन्सारी

सुनसरी । कोशी प्रदेश सरकारद्वारा विनियोजित बजेटअन्तर्गत पूर्वाधार विकास कार्यालय इनरुवामार्फत ठेक्का सम्झौता भई निर्माणाधीन सडक योजनालाई लिएर हरिनगर गाउँपालिकामा विवाद उत्पन्न भएको छ।स्थानीय युवाहरूको एक समूहले सडक निर्माण कार्य रोकिएको विषयलाई लिएर गाउँपालिका कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।


शुक्रबार केही युवाले गाउँपालिका कार्यालय अगाडि सडकमा बाँस राखेर अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगत तथा वडा नं. १ का अध्यक्ष प्रवीण गुप्तामाथि दुर्व्यवहार भएको जनाइएको छ।


विवाद समाधानका लागि गाउँपालिकाले आन्दोलनरत पक्षलाई सोमबार बिहान १० बजे वार्ताका लागि बोलाएको थियो। तर वार्ताअघि नै सोमबार बिहान ८ः३० बजेदेखि प्रदर्शनकारीहरूले गाउँपालिका कार्यालय प्रवेशद्वारमा अवरोध सिर्जना गर्दै सडकमा बाँस राखेर प्रदर्शन थालेका थिए।


सो क्रममा कर्मचारीहरूलाई समेत दुर्व्यवहार गरिएको गाउँपालिकाले जनाएको छ।

प्रदर्शनका कारण सेवा लिन आएका सेवाग्राहीहरू प्रभावित बनेपछि केही सेवाग्राहीले प्रदर्शनकारीको विरोध गर्दै प्रतिकारसमेत गरेका थिए।


गाउँपालिकाका अनुसार उक्त सडक योजना कोशी प्रदेश सरकारको बजेटअन्तर्गत पूर्वाधार विकास कार्यालय इनरुवाले ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनी आशीर्वाद कन्स्ट्रक्सन, विराटनगर लाई जिम्मा दिएको हो। स्थानीय सरकारको भूमिका केवल सहजीकरण गर्ने भएकाले गाउँपालिका अध्यक्ष गफार अन्सारीले निर्माण कम्पनीलाई काम अगाडि बढाउन सहयोग गर्दै आएका थिए। लामो समयसम्म काम रोकिएपछि ठेकेदारलाई काम गर्न आग्रह गर्दै आएको थियो। सोही क्रममामा ठेकेदार कम्पनीले काम समेत सुरु गरिसकेका छन् ।


ठेकेदार कम्पनीले हालसम्म करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको काम सम्पन्न गरी सोबापतको भुक्तानीसमेत लिइसकेको बताइएको छ। कम्पनीले व्यक्तिगत तथा प्रशासनिक कारणले निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्न नसकेको स्वीकार गरेको स्रोतले जनाएको छ।


प्रदेश सरकारअन्तर्गतको योजनाको काममा स्थानीय सरकारको विरोध किन गरिएको हो भन्ने विषयलाई लिएर स्थानीय तहमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। यस विषयमा सम्बन्धित निकायबीच छलफल र समन्वयमार्फत समस्या समाधान गर्नुपर्ने स्थानीयको माग रहेको छ।

प्रतिक्रिया