‘श्रम गरी जीविकोपार्जन गर्नेलाई नै थाहा छैन श्रमिक दिवस’

Jasus Khabar 3925+ समाचार ( )
१८ वैशाख २०८२

 ढल्किदो उमेरसँगै यो चर्को गर्मीमा भारीका बोरा बोकेर निधारभरी पसिना बगाउँदै मजदुरी काम गरी रहेकी रामकलीलाई श्रमिक दिवसका बारेमा केही थाहा छैन ।

उमेर तीन दशक नाघेकी उनीलाई आफ्नो जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता मात्र छ । दिवसका बारेमा केही नबुझेकी उनले आफूले गरेको कामको ज्याला समयमा नै पाए हुन्थ्यो भन्ने छ । यति मात्र नभए र ज्यालाको रकम पनि बढी दिए घर खर्च टार्न सहज हुने उनको भनाइ छ । दुई सन्तानकी आमा समेत रहेकी रामकलीलाई यो महंगीमा कसरी जिविकापार्जन गर्ने ठूलो चिन्ता छ ।

‘बजार महंगीले आकाशिएको छ’ उनले भनिन्, ‘ज्यालाको रकमले खान लाउन समेत मुस्किल भैइसक्यो । श्रमिक दिवस कहिले, किन र के का लागि मनाइन्छ थाहा छैन’ उनले भनिन्, ‘हामी जस्ताले एक दिन काम गरेन भने बेलुका के खाने चिन्ता हुन्छ ।’

यो पीडा रामकलीको मात्र नभई यहाँ ज्यालामा काम गर्ने हरेक महिला श्रमिक वा मजदुरको हो । पुरुष सरह नै काम गर्दा पनि केहीले ज्याला कम दिने गरेको यहाँका महिला श्रमिकको गुनासो छ । पुरुषको भन्दा एक सय ५० रुपैयाँसम्म कम पाउने गरेको उनीहरु बताउँछन् । तर यो किसिमको विभेद भएको आफूले अहिलेसम्म थाहा नपाएको स्थानीय युवा ध्रुव घिमिरेले बताए । ‘केही वर्ष पहिले भएपनि अहिले महिला पुरुष दुबैले समान ज्याला पाउँछन्,’ उनले भने । अहिले घर निर्माणको काम गर्ने ज्यालादारी मजदुरले दैनिक ६ सय देखि ७ सय रुपैयाँसम्म पाउने गरेको उनको भनाइ छ । महिलाले पनि श्रम गरेअनुसार उत्तिकै र समान ज्याला पाएको उनले बताए ।

‘गाउँ घरमा श्रमिक पाउन मुस्किल छ,’ उनले भने, ‘प्रायः पुरुष जति विदेशिने हुँदा श्रमिकको अभाव छ । पुरूष कामदार नपाएपछि महिलाबाट काम लिन थालेको पाइन्छ’ उनले भने । प्रायः निर्माण क्षेत्र, ईट्टा उद्योग, होटल तथा निजी क्षेत्रबाट सञ्चालित उद्योगमा महिला पुरुष दुबै कामदार काम गरिरहेको भेटिन्छन् ।

ईट्टा उद्योगी व्यवसायी संघका अध्यक्ष रामविनोद साहले अहिले श्रमिक पाउन मुस्किल भएकाले ज्यालामा कमी नगरेको बताए । ईट्टा उद्योगीले महिला पुरुषको ज्यालामा समान र उत्तिकै दिएको उनको भनाइ छ । आफ्नो ईट्टा उद्योगमा महिला कामदार नरहेको र यो किसिमको विभेद गर्न नदिने उनको भनाइ छ ।

‘यहाँका अन्य ईट्टा उद्योगमा महिला पुरुष दुबैले काम गर्छन’ उनले भने, ‘ज्यालामा अन्तर छैन । ईट्टा बनाउने, धुने , सुकाउने र चाङ बनाएर राख्ने लगायतका काम महिला पुरुष दुबैले गर्दै आएका छन्’ उनले भने । एक महिनामा दैनिक ज्याला अनुसार २२ हजार रुपैयाँँ भन्दा बढी सम्म बुझ्ने गरेको संघका अध्यक्ष साहले बताए । आर्थिक अवस्था कमजोर र पहाडका बिकट गाउँका श्रीमान/श्रीमती दुबै आएर काम गर्ने गरेको उनले बताए ।

चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाले श्रमिकको काम गरे अनुसारको ज्याला नभएको बताए । श्रमिकको श्रमको उचित मूल्यांकन गरिनुपर्नेमा उनले जोड दिए । यसका लागि नगर उद्योग वाणिज्य संघले यहाँका उद्योगी व्यवसायीसंग छलफल गर्ने उनले बताए ।

हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो । रौतहटमा पनि मजदुर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेको छ ।

प्रतिक्रिया