लोैकहीमा लागुऔषधसहित दुई युवक पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
१८ वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ स्थित भारतीय सिमावर्ती बजार वेलाहाबाट नेपालतर्फ अवैध रुपमा लागुऔषध ओसारपसार गर्दै आएका दुई जना युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन्।


बिहिवार दिउँसो करिब ५ बजे भारतीय बजार वेलाहाबाट पुरी टोल हुँदै नेपालतर्फ आइरहेको प्रदेश २–०१–००२ प ७०१३ नम्बरको डिस्कभर मोटरसाइकल जाँच गर्दा लागुऔषधसहित दुई जना युवक पक्राउ परेका हुन्।


सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) को सशस्त्र प्रहरी हवल्दार बिनोद घिमिरेको नेतृत्वमा खटिएको टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलभित्र लुकाइछिपाई राखिएको कालो प्लाष्टिकको पोका फेला पारेको थियो। सो पोका जाँच गर्दा १.२० ग्राम तौल भएको खैरो हेरोइन जस्तो देखिने लागुऔषध फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।


पक्राउ पर्नेमा सप्तरी जिल्लाको कन्चनरुप नगरपालिका–८ कन्चनपुर बस्ने २७ वर्षीय सर्वन राम र इनरुवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रदिप कुमार यादव रहेका छन्। मोटरसाइकल चालक राम र पछाडि सवार यादव दुवैलाई पक्राउ गरी आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।


पक्राउ परेका व्यक्तिबाट डिस्कभर मोटरसाइकल, लागुऔषधसहित कालो प्लाष्टिकको पोका, रेडमी मोबाइल र आइप्रो मोबाइलसमेत बरामद गरिएको छ।


सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी निरीक्षक नारायण गौतमले भने, “सिमावर्ती क्षेत्र हुँदै अवैध लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा निगरानी बढाइएको छ। आज पनि नियमित गस्ती र जाँचको क्रममा लागुऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिइएको छ। हामीले सीमा क्षेत्रमा सुरक्षालाई थप कडाइ गर्दै छौं।”

प्रतिक्रिया

सम्बन्धित समाचार