उत्तरी बुर्किनाफासोमा एक जिहादी संगठनले गरेको आक्रमणमा परी कम्तिमा १०० जनाको मृत्यु भएको छ । सैन्य अड्डा र जिबो शहरलगायतलाई निशाना बनाएर गरिएको आक्रमणमा यति ठूलो संख्यामा हताहति भएको हो ।>
एक सहायताकर्मी र स्थानीय मानिसहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले मृत्यु हुनेमा अधिकांश सैनिक रहेको बताएका छन् । उनीहरूले स्थानीय समयअनुसार सोमबार यसको जानकारी दिएका हुन् ।>
बुर्किनाफासोको सबैभन्दा प्रभावित क्षेत्रहरूमा काम गर्ने एक सहायताकर्मीले आइतबार बिहान सबेरै सैन्य अड्डा र जिबो शहरसहितलाई निशाना बनाएर आक्रमण सुरु भएको बताए ।>
यो आक्रमणको जिम्मेवारी अल कायदासँग सम्बन्धित जमान नस्र अल इस्लाम वाल मुस्लिमिन (जेएनआईएम) ले लिएको बताइएको छ । यो संगठन साहेल क्षेत्रमा सक्रिय रहेको समाचारमा उल्लेख छ ।>
कतिपय सञ्चारमाध्यमहरूले जनाएअनुसार बुर्किनाफासोको लगभग आधा भाग सरकारको नियन्त्रणबाहिर छ । यो आक्रमणले बुर्किनाफासोमा जेएनआईएम पहिलेभन्दा बलियो बनेको संकेतका रूपमा विश्लेषण भइरहेको छ ।>>