अजमल अन्सारी>
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–६ पिडारीस्थित सडक खण्डबाट ठूलो परिमाणमा लागू औषध गाँजासहित एक भारतीय नम्बर प्लेटको एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।>
शनिबार राति १० बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ईटहरी, इलाका प्रहरी कार्यालय पकली र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको संयुक्त प्रहरी टोलीले रामधुनी क्षेत्र आसपासको सम्पूर्ण सडक ब्लक गरी BR38P5414 नम्बरको भारतीय एम्बुलेन्स रोकेर चेकजाँच गरेको थियो।>
>
जाँचका क्रममा उक्त एम्बुलेन्समा कालो प्लास्टिकभित्र सेतो बोरामा प्याक गरिएको अवस्थामा ३०–३० केजीका ६ बोरा लागू औषध गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजाको कुल तौल १८० केजी रहेको छ।>
>
उक्त एम्बुलेन्स चलाइरहेका सुनसरी बराहक्षेत्र नगरपालिका–४ का २५ वर्षीय श्रीराजकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका साह र बरामद सामग्रीलाई इलाका प्रहरी कार्यालय पकलीमा ल्याई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।>
>
प्रहरीका अनुसार लागू औषध ओसारपसारमा प्रयोग हुँदै आएको एम्बुलेन्स नियन्त्रणमा लिइनु ठूलो सफलता मानिएको छ। घटनासम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।>
>