स्वास्थ्य सचेतना

Jasus Khabar 3925+ समाचार ( )
२६ वैशाख २०८२

नेपालले स्वास्थ्य सचेतनाको क्षेत्रमा उल्लेखनीय फड्को मारेको छ। गाउँका आमाहरू अस्पतालमा सुरक्षित सुत्केरी गराइरहेका छन्। किशोरहरू पोषण र स्वास्थ्य व्यवहारका विषयमा सचेत हुँदै गएका छन्। वृद्ध नागरिकहरू पनि नियमित स्वास्थ्य परीक्षणतर्फ आकर्षित हुँदै गएका छन्। जन्मान्तर र सन्तानका संख्या पनि निश्चित गर्न थालिएको छ। व्यक्तिगत जीवनशैलीदेखि सामाजिक संस्कारसम्म स्वास्थ्यलाई केन्द्रीय महत्त्व दिन थालेका छन्।

‘पहिले त सुत्केरी गराउन पनि अस्पताल नपुग्ने गर्भवतीहरू अहिले नियमित गर्भ परीक्षण गराउने गरेको धेरैले देखेको हुनुपर्छ। पहिलोपटक खासै सुविधा पनि थिएन, नजिकमा अस्पताल पनि थिएन। अहिले त सजिलो छ, नजिकमा अस्पताल पनि छ।’ सुन्दरहरैंचा, मोरङकी कृष्णमाया भट्टराईले भनिन्। उनी जस्तै अधिकांश गर्भवतीहरूको अनुभव यस्तै छ। एकातिर नेपालीहरूमा स्वास्थ्य चेतनाको विकास हुँदै गएको छ भने अर्कोतिर आधुनिक स्वस्थ्य सेवाको पहुँच पनि बढ्दै गएको छ। पहिले स्वास्थ्य सेवाको पहुँच रहेकाले पनि परम्परागत विश्वास र घरेलु उपचारमा भर पर्नुपर्ने बाध्यता थियो। अस्पताल, स्वास्थ्य चौकी सहरतिर मात्रै थिए। जिल्ला अस्पतालसम्म पुग्ने बाटो र साधनको पनि अभाव थियो। आर्थिक अवस्था पनि कमजोर भएकाले बिरामी पर्दा मात्रै उपचार खोज्ने प्रवृत्ति थियो।

सन् २०११ को डेमोग्राफी एन्ड हेल्थ सर्भेअनुसार नेपालमा बाल मृत्युदर प्रतिहजार जीवित जन्ममा ५४ थियो भने प्रत्येक लाख जन्ममा २८१ आमा सुत्केरी हुँदा ज्यान गुमाउनु परेको थियो। त्यसभन्दा अगाडि जाने हो भने बालमृत्युदर, मातृमृत्युदर बढी र औसत आयु कम रहेको तथ्यांक रहेको पाइन्छ। त्यस्तै, खोप सेवा अपुग थियो। धेरैजसो नागरिकमा नियमित गर्भ परीक्षण गर्नुपर्छ र सुत्केरी गराउन स्वास्थ्य केन्द्र वा अस्पताल जानुपर्छ भन्ने ज्ञान थिएन। बच्चा जन्माउने प्रक्रियालाई समान्य रूपमा लिने गर्दथे। त्यतिबेला बच्चा घरमै परम्परागत तरिकाले सासू, अनुभवी तथा स्वास्थ्यका तालिम नपाएका महिलाहरूले नै गराउने चलन थियो। न त अस्पताल जान सजिलो थियो, न त जानुपर्छ भन्ने चेतना नै। अन्य रोगमा पनि उपचार गराउने चलन खासै थिएन।

तर समयसँगै स्वास्थ्यप्रति जनचेतना बढ्दै गएको छ। सरकारी पहल र विभिन्न गैरसरकारी संस्थाहरूको सक्रियताले गाउँदेखि सहरसम्म स्वास्थ्य शिक्षाको सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेलेका छन्। स्वास्थ्य स्वयंसेविका कार्यक्रममार्फत हजारौं महिलालाई तालिम दिई गाउँगाउँमा सुरक्षित मातृत्व, परिवार नियोजन, पोषण, सरसफाइ र रोग निवारणका सन्देशहरू पुर्‍याएका छन्। खोप अभियानले पोलियो जस्ता घातक रोगहरूको नियन्त्रण सम्भव बनायो। खुला दिसामुक्त नेपाल अभियानले शौचालय प्रयोग र हात धुने बानीलाई घरदैलोमा पुर्‍याएको छ। सञ्चारको क्रान्तिले रेडियो, टेलिभिजन र पछिल्लो समय सामाजिक सञ्जालमार्फत स्वास्थ्य जानकारीलाई घरघरमा सजिलै पुर्‍याउने अवस्थाको सिर्जना गरेको छ।

स्वास्थ्यसम्बन्धी ज्ञान र जानकारीले पनि सचेतनाको स्तर बढेको छ। खाने, व्यायाम गर्नेजस्ता कामलाई स्वास्थ्यसँग जोड्दै गएको हामीले पाएका छौं। रहनसहन, खानपान र स्वास्थ्य उपचारमा भएका यी प्रयासहरूको परिणामस्वरूप नेपालको स्वास्थ्य सूचकांकहरू उल्लेखनीय रूपमा सुधारिएको छ। पछिल्ला तथ्यांक हेर्दा बाल मृत्युदर प्रतिहजार २८ मा झरेको छ भने मातृ मृत्युदर पनि १५१ मा खुम्चिएको छ। नियमित खोप सेवा ९० प्रतिशतभन्दा माथि पुगेको छ। वयस्क धूमपान दर २० प्रतिशत हाराहारीमा झरेको छ। बलाहा सुनसरीकी मीना श्रेष्ठ भन्छिन्, ‘पहिले गर्भ जाँच खासै गर्दैनथे, अब त गाउँमै स्वास्थ्य स्वयंसेविका सम्झाउँछिन्, अनिवार्य चारपटक गर्भ जाँच गर्छौं।’ गर्भको परीक्षण गर्ने मात्र होइन, अस्पताल वा स्वास्थ्य संस्थामा गएर प्रसव गराउनेको संख्या पनि उत्ति नै बढेको छ।

कता—कता त कोरोना महामारीले पनि समाजलाई सचेत बनाएको भान हुन्छ। महामारीले स्वास्थ्यलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्षका रूपमा स्थापित गरिदियो। माक्स लगाउने, हात धुने, सामाजिक दूरी कायम गर्नेजस्ता व्यावहारिक अभ्यासले नेपाली समाजमा नयाँ चेतना भित्रायो। योगविज्ञान र विभिन्न शिविरहरूले पनि नसर्ने रोगहरू, मानसिक स्वास्थ्य तथा मोटोपनजस्ता स्वास्थका महत्त्वपूर्ण पक्षतर्फ सचेत गराएको पाइन्छ। पछिल्लो समयमा धेरैले आफ्नै तौल र खानपानमा नियन्त्रण गर्न खोजेको देखिन्छ। यो पनि स्वास्थ्य सचेतना नै हो। नियमित परीक्षण र बिमारी नभइकन पनि गरिने परीक्षणहरूलाई अझ सशक्त स्वास्थ्य बिमाले बनाएको छ।

कतिपय अवस्थामा चाहिनेभन्दा बढी सचेतनाले अनावश्यक तनाव र परीक्षण थपिएको छभन्दा फरक नपर्ला। सचेत भएर स्वास्थ्य बिमाप्रतिको आकर्षण पनि बढेको हो या अनावश्यक परीक्षणका लागि, कतै कतै बुझ्न गाह्रो भएको छ। त्यस्तै, महामारीका बेला गलत सूचनाको बाढी र त्यसले थपिएको तनाव पनि कम छैनन्। त्यसैले राम्रो स्वास्थ्य सचेतनाका लागि राम्रो ज्ञान, सही सूचना, वैज्ञानिक तथ्य र प्रमाणहरूमा आधारित स्वास्थ्य सन्देशहरू मात्र प्रवाह गर्नु जरुरी हुन्छ र यसको महत्त्व झनै बढाएको छ।

समयसँगै सचेत भएका छौं। औसत आयु पनि बढाएका छौं। बालमृत्युदर र मातृमृत्युदर पनि घटाएका छौं। तर अझै पनि हामी धेरै राम्रो अवस्थामा पुगिसकेका रहेनछौं। प्रतिलाख जीवित जन्म हुँदा दुईजनामात्र आमाहरूको मृत्यु हुने देशहरू भइसक्दा हाम्रोमा अझै सो दर १५१ मा छ। आज पनि दुर्गम क्षेत्रका महिला सुरक्षित सुत्केरी सेवा नपाएर ज्यान गुमाउन बाध्य छन्। मानसिक स्वास्थ्यका विषयमा अझै अज्ञान छौं। उपचारको दायरामा लिएर आउनुपर्ने मानसिक रोगीहरूलाई बौलाहा, पागल भनेर समाजबाट बहिष्कार गरिरहेका छौं जुन अत्यन्तै असभ्य र कुसंस्कार हो। किशोरकिशोरीहरूमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेत गराउन सकेका छैनौं।

२० वर्ष पार नगर्दै आमा बन्नु परेका बाध्यताहरू हाम्रो समाजमा छँदैछन्। मधुमेह, उच्च रक्तचाप र मुटु रोगजस्ता जीवनशैलीजन्य रोगहरूको जोखिम बढ्दो छ, जसले नयाँ चुनौतीहरू सिर्जना गरिरहेको छ। त्यसैले स्वास्थ्य सचेतनालाई अझ व्यापक बनाउन विद्यालय तहबाटै व्यावहारिक स्वास्थ्य शिक्षा बलियो बनाउन जरुरी छ। ग्रामीण र सीमान्तकृत समुदायसम्म स्वास्थ्य सेवा र सूचना पहुँच पुर्‍याउन अतिरिक्त पहल चाहिन्छ। साथै, डिजिटल माध्यमको सदुपयोग गर्दै सही र प्रामाणिक स्वास्थ्य जानकारी प्रवाह सुनिश्चित गर्नु आवश्यक छ। मानसिक स्वास्थ्य र वृद्ध नागरिकहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम विकास गर्न पनि अबको आवश्यकता देखिन्छ।

(डा. साह, जनस्वास्थ्यविद् हुन्।)


प्रतिक्रिया

सम्बन्धित समाचार