सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ। नदीको जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।
>
केही समय अघि वर्षाका कारण जल सतह उच्च भई असुरक्षा हुने भएकाले जेटबोट सेवा बन्द गरिएको थियो। तिवारीले भने, “चाडवाडको समयमा यात्रुहरूको आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा सुरु गरिएको हो।”>
हाल सुनसरीको चतरादेखि बराहक्षेत्र हुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन भइरहेका छन्। जेटबोट सञ्चालन भएसँगै भोजपुरलगायतका क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज हुने अपेक्षा गरिएको छ।>
आज बिहान, सुनसरीको चतरास्थित सप्तकोसी नदीमा प्रजिअ तिवारी, प्रहरी उपरीक्षक सुमन तिमल्सिना, र राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका उपअनुसन्धान निर्देशक तुल्सी कट्टेलसहितका अधिकारीहरूले निरीक्षण गरेका थिए।>>