रुपन्देही ।
बिहीबार राती भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोज (केआईआईटी)मा अध्ययनरत वीरगन्जकी नेपाली विद्यार्थी प्रिसा शाह मृत भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ । सो शिक्षालयको दोस्रो सेमेस्टरमा अध्ययनरत शाह होस्टल मै बसेकी थिइन् ।
उनीसँग सँगै अध्ययन गर्ने रुपन्देहीका विद्यार्थी सुयोग लम्सालका अनुसार अहिले विद्यार्थीहरूलाई प्रहरीले सोधपुछ गरिरहेको र शव भित्रै रहेको अवस्था छ । घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान र सोधपुछ भइरहेको उनले जनाएका छन् । ‘एकाएक यस्तो घटनाले नेपाली मात्रै होइन सबै विद्यार्थीलाई स्तब्ध बनाएको छ, कोही केही बोल्ने मुडमा छैनन्, विषयवस्तु पनि केही खुलेको छैन’ उनले भने ।
वीरगन्जकी शाह अर्को एक जना साथीसँगै बस्ने गरेकी थिइन् । ‘शाह मेरो क्लासमेट नै हो, दुई जना नेपाली छात्राहरू होस्टेलमा बस्ने साथीहरू थिए नै तर आज एक्कासि यस्तो घटना देख्नुपर्यो’ उनले भने–‘क्लासमा निकै मेहनती र शालीन थिइन्।’>
>>>
गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० बर्सिया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टेलमा मृत फेला परेपछि विद्यार्थीहरूले आन्दोलन गरेका थिए । रुपन्देहीको भैरहवा निवासी लम्सालले आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे परिवारले नै त्यहाँ पुगेर उजुरी दिएको थियो । त्यो घटनापछि कलेज प्रशासनले नेपाली विद्यार्थीमाथि गरेको दुर्व्यवहारको ठुलो आलोचना भएपछि माफी माग्दै ती कर्मचारीलाई कारबाही सिफारिस गरिएको थियो । त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले छानबिनपछि विश्वविद्यालयको निष्क्रियतालाई घोर लापरबाही ठहर गरेको थियो।>
करिब १५ सय नेपाली विद्यार्थी अध्ययन गर्ने यो शिक्षालयमा लगातार यस्तो घटना भएपछि नेपाली विद्यार्थीहरूलाई थप चिन्ता थपिएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरेको र भुवनेश्वर प्रहरीसँगको कुराकानीमा बिहीबार बेलुकी करिब ८ बजेतिर उनी कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी गराएका छन् । प्रहरीले शाहको परिवार नजाँदै पोस्टमार्टम नगर्ने जनाएको त्यहाँ रहेका नेपाली विद्यार्थीले जनाएका छन् ।>>