भोक्राहा नरसिंह घटना प्रकरण: आरोप लगाइएकोप्रति घोर आपत्ति

Jasus Khabar 3945+ समाचार ( )
१६ कार्तिक २०८२

अजमल अन्सारी

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ चिरौलीचोकमा २०८२ कात्तिक १३ गते बिहीबार नेविसंघका नेता सेराज हुसेन र स्थानीय बासिन्दा अन्सारीबीच भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) सुनसरी संगठन विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।


रास्वापाले शनिबार एक विज्ञप्ति जारी गर्दै उक्त घटना कृषकहरूलाई मल वितरणसम्बन्धी विषयमा भएको देखिएको उल्लेख गरेको छ। तर, सो घटनामा पार्टीका सदस्यहरू हेदर मन्सुरी र सद्दाम अन्सारीको नाम जोड्दै नेविसंघ र तरुण दलले सार्वजनिक गरेको विज्ञप्ति मार्फत हाम्रा सदस्यहरूमाथि मिथ्या, गलत र अपमानजनक आरोप लगाइएकोप्रति घोर आपत्ति जनाएको छ।


विज्ञप्तिमा हेदर मन्सुरीले घटनास्थलमा दुवै पक्षबीच भएको झगडा छुट्याउने र मानिसहरूलाई जोगाउने काम गरेको स्पष्ट देखिएको जनाइएको छ। "समाजमा मानवीय सोच राख्ने मानिसलाई अफवाह फैलाएर बदनाम गर्न खोज्नु मानवताको विरोध हो," विज्ञप्तिमा भनिएको छ।


रास्वापाले समाजमा झगडा रोक्न र मानवीय भावनाको संरक्षण गर्न सबै पक्ष सचेत रहन आग्रह गरेको छ। साथै, सो घटनाको निष्पक्ष छानबिन गरी झगडा गर्ने पक्षमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको जनाएको छ।

प्रतिक्रिया