अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण विश्व नै तरंगित भइरहेको छ । अब उनको नीतिको आलोचनामा अमेरिकीहरू नै सडकमा उत्रिएका छन् । हजारौँ अमेरिकीहरूले ट्रम्पको नीतिविरुद्ध फेरि एकपटक प्रदर्शन गरेका छन् ।>
मिडिया रिपोर्टहरूका अनुसार ट्रम्पले लगाएको कर, धम्की, संघीय रोजगारीमा कटौतीलगायतको विरोधमा यो प्रदर्शन भएको हो । शनिबार भएको प्रदर्शनमा हजारौँ सहभागी भएका थिए ।>
>
अमेरिकाका ७०० भन्दा बढी स्थानमा विरोध प्रदर्शन भएको थियो । न्युयोर्क, वासिङ्घटन, सिकागो, लस एन्जलसलगायतका शहरहरूमा पनि ट्रम्पविरोधी प्रदर्शन भएको थियो । यसअघि ५ अप्रिलमा पनि ट्रम्पविरोधी प्रदर्शन भएको थियो । यसपटक भने प्रदर्शनकारीहरूको संख्या केही कम भएको बताइएको छ ।>
प्रदर्शनकारीहरूले ट्रम्पमाथि नागरिक अधिकारको कटौती, नागरिक स्वतन्त्रता कटौती तथा कानुनी शासन कमजोर बनाएको आरोप लगाएका छन् । यसका साथै सरकारले प्रक्रिया पूरा नगरी निर्वासित गर्न थालेको भन्दै विरोध भएको छ |>
>
प्रदर्शनकारीहरूले यो अभियानलाई ५०५०१ (पचास, पचास, एक) नाम दिएका छन् । बीबीसीका अनुसार यसको अर्थ हुन्छ- ५० प्रदर्शन, ५० राज्य, १ आन्दोलन । सो समूहका प्रवक्ताले शनिबार 'ट्रम्प प्रशासनको अधिनायकतावादबाट लोकतन्त्रको रक्षाका लागि आन्दोलन' गरिएको बताएका थिए ।>
उनले अगाडि भनेका छन्- यो गैरराजनीतिक तथा शान्तिपूर्ण आन्दोलन हो । हामीले संविधानको सम्मान गर्न र सरकारले जनहितलाई प्राथमिकता दिनुपर्ने माग गरेका छौँ ।>>

