प्रतिबन्धित लागुऔषधि कारोबारमा संलग्न देखिएको भन्दै कचनकवल गाउँपालिकाले एक जना हेल्थ असिस्टेन्टलाई जागिरबाट हटाएको छ । गाउँपालिकाले घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज तथा हेल्थ असिस्टेन्ट विक्रम राजवंशीको सेवा करार सम्झौता भंग गर्दै जागिरबाट हटाएको हो। >
हेल्थ असिस्टेन्ट राजवंशीले बाह्रदशी गाउँपालिका–५ फूलबारीस्थित विक्रम विकास मेडिकलसँग जोडिएर प्रतिबन्धित औषधिको कारोबारमा संलग्न देखिएपछि उनलाई जागिरबाट हटाएको प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले जानकारी दिए। >
राजवंशीले २०७९ सालदेखि मेडिकल सञ्चालन गर्दै आएपनि औषधि व्यवस्था विभाग विराटनगरको अनुगमन टोलीले वैशाख २५ गते स्थलगत निरीक्षण गर्दा उनी त्यहाँ उपस्थित थिएनन्। >
त्यसपछि विभागले कचनकवल गाउँपालिका स्वास्थ्य शाखालाई टेलिफोनमार्फत राजवंशीको विवरण माग गरेका थिए। गाउँपालिकाले सोही दिन फार्मेसीको दर्ता र सञ्चालनसम्बन्धी कागजात पेस गर्न पत्राचार गरेपनि वैशाख २८ गतेसम्म पनि राजवंशीले स्पष्टीकरणसहित कुनै कागजात पेस नगरेको गाउँपालिकाले जनाएको छ। >
प्रतिबन्धित औषधिको कारोबारमा संलग्न देखिएकाले उनको सेवा करार सम्झौता भंग गरेको गाउँपालिकाले जनाएको छ। >
विक्रम विकास मेडिकलबाट प्रहरी निरीक्षक विजय चौहानको टोलीले प्रतिबन्धित ट्रामाडोल ७९५ ट्याब्लेट, नियन्त्रित औषधीहरू एन्टीकोफ ४७० ट्याब्लेट र डिक्लोमिन ३ (८) ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। >
>
मेडिकलमा बस्दै आएकी सोही ठाउँकी ३९ वर्षीय वन्दना पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो मेडिकल राजवंशीले सञ्चालन गर्दै आएका छन्। प्रहरीका अनुसार पोखरेल राजवंशीकी श्रीमती हुन्। >>