ट्विनअटरको इन्जिन बन्यो, तर उडाउने पाइलटै भएनन्

Jasus Khabar 3925+ समाचार ( )
६ चैत्र २०८१

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ट्विनअटरको इन्जिन तोकिएको समयभन्दा करिब डेढ महिना ढिला आयो। इन्जिन बनेर आएको करिब दुई हप्ता बित्दा पनि जहाज उडाइएको छैन।

ट्विनअटरका प्रशिक्षक पाइलट (आईपी) को ६–६ महिनामा हुने पाइलट प्रोफिसेन्सी टेस्ट (पाइल दक्षता जाँच–पीपीसी) नभएका कारण उडान सुरु हुन नसकेको हो। जहाजका लागि एक जना स्थायी र एकजना करार गरी दुई प्रशिक्षक पाइलट छन्। तीन महिनादेखि उक्त जहाज ग्राउन्डेड छ। जहाजको इन्जिन यही फागुन २६ गते आएको थियो। जनवरी अन्तिममा आउने भनेको इन्जिन मार्चमा मात्र आएको हो। निगमको पुरानो इन्जिनसँग एक्सचेन्ज गरेर ल्याइएको इन्जिन चैत २ गते (मार्च १५ तारिख) मा ट्विनअटर (नाइन–एबीयू) मा जडान गरिएको छ। तर, प्रशिक्षक पाइलट तयार नहुँदा आन्तरिक उडान हुन नसकेको निगम स्रोत बताउँछ। निगमका प्रवक्ता इन्जिनियर मनोजकुमार साह पाइलट प्रोफिसेन्सी टेस्टमा गृहकार्य भइरहेको बताउँछन्।

फ्लाई

आवर (उडान घण्टा) सकिएपछि ट्विनअटर (नाइन–एबीयू) पुस ७ गतेबाट ग्राउन्डेड भएको हो। उक्त जहाजको इन्जिन परिवर्तनका लागि इजरायली कम्पनी बेट सेमेससँग निगमले पुस ५ गते औपचारिक सम्झौता गरेको थियो। इन्जिन मर्मत कम्पनीले सम्झौता गरेको ४५ देखि ९० दिनभित्र इन्जिन दिनुपर्ने व्यवस्था रहेको छ।


निगमसँग आन्तरिक उडानका तीनवटा ट्विनअटर जहाज छन्। तर, तीनवटै ग्राउन्डेड छन्। निगमको एउटा ट्विनअटर त झन्डै १२ वर्षदेखि ग्राउन्डेड छ। डीएचसी ६–३०० कलसाइन एबीएक्सको उक्त जहाज सन् २०१२ अर्थात् (२०६८/०६९ साल) बाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घाम तापेर बसिरहेको छ। उक्त जहाज ग्राउन्डेडपछि दुइटा जहाजले १९ गन्तव्यमा उडान भरिरहेका थिए। तर, ती पनि ग्राउन्डेड भए। इन्जिनमा समस्या देखिएपछि नाइन–एबीटी पनि जेठ २३ बाट ग्राउन्डेड भयो। त्यसयता ट्विनअटर नाइन–एबीयूले मात्रै आन्तरिक उडान धान्दै आएको थियो। सोही जहाजको एउटा इन्जिनको फ्लाई आवर सकिएपछि पुस ७ गतेबाट ग्राउन्डेड भएको हो।

मुलुकका विकट पहाडी र हिमाली जिल्लामा उडान भर्ने एकमात्र संस्था निगम हो। सबै जहाज थन्किएपछि सबैतिरको आन्तरिक उडान बन्द छ। ट्विनअटरमा दुई जना प्रशिक्षक पाइलट छन्, जसको मासिक तलबमात्रै ७ देखि १० लाख छ। करिब १९ जना इन्जिनियर र ५० भन्दा बढी प्राविधिक कर्मचारी कामविहीन भएको महिनौं भइसकेको छ। उडान ठप्प हुँदा कर्मचारीको तलबलगायत प्रशासनिक खर्चका कारण निगमलाई मासिक करोडौंको आर्थिक हानि भइरहेको छ।


निगमले भाडाका प्रशिक्षक पाइलट ल्याएर मर्मतपछिको प्रशिक्षण उडान गर्दै


निगमले ट्विनअटर (नाइन–एबीयू) को मर्मतपछि प्रशिक्षण उडान बिहीबार गर्ने प्रवक्ता साहले बताए। आफ्ना प्रशिक्षक पाइलटको पीपीसी नभएका कारण भाडाका प्रशिक्षक पाइलट ल्याएर उक्त प्रशिक्षण उडान गर्न लागेको हो। मर्मतपछिको प्रशिक्षण उडानका लागि निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार बुधबारसम्म मर्मतपछिको प्रशिक्षण उडानको अनुमति प्रक्रियामा रहेको छ भने बिहीबार कार्यालय समय सुरुपछि अनुमति दिइनेछ। उक्त प्रशिक्षण उडानपछि नियमित उडान गर्न जहाज योग्य भए÷नभएको जाँच हुनेछ र योग्य भएमात्र नियमित उडानमा जहाज फर्किनेछ।


व्यवस्थापनको लापरबाहीले आन्तरिक उडान ठप्प

ट्विनअटर नाइन–एबीयू जहाजको इन्जिनको उडान आवर पुस ७ मा सकिँदै थियो। यसै कारण जहाजले २०८१ जेठदेखि उडान आवर सेभिङ रणनीतिमा उडान भरिरहेको थियो। जहाजमा भएका दुई वटा इन्जिनमध्ये दाहिनेपट्टिको इन्जिनको फ्लाइट आवर (अधिकतम उडान गर्न सकिने) अवधि समाप्त भएको हो।


जेठ २३ गते ग्राउन्डेड भएको नाइन–एबीटी जहाजको इन्जिनको आन्तरिक मर्मत गर्दा इन्जिन सिज भएको र निगमसँग मौज्दात जगेडा इन्जिन नभएको कारणले उक्त जहाज ग्राउन्डेड भएको हो। त्यस जहाजका इन्जिन तथा धेरै पाटपुर्जाहरू निगमको पछिल्लो पटक ग्राउन्डेड भएको नाइन–एबीयू जहाजमा स्थानान्तरण गरिएको निगम स्रोत बताउँछ।


निगमको ट्विनअटरमा प्रयोगमा भएको इन्जिन 


(पीटी ६–२७) को फ्लाइङ आवर पुस ७ गते सकिँदै छ भन्ने पहिला नै थाहा थियो। इन्जिन मर्मतका लागि निगमले २०२४ को अगस्ट ९ (२०८१ भदौ ३ गते) पहिलो बोलपत्र आह्वान ग¥यो। उक्त बोलपत्रमा इजरायली कम्पनी बेट सेमेस र नेपाली कम्पनी माटर टे«डिङले निवेदन दिएका थिए। बेट सेमेसले यसअघि पनि धेरै पटक निगमको इन्जिन मर्मत, सट्टापट्टामा काम गरेको थियो। सामान तथा वस्तुको आयात÷निर्यात गर्दै आएको माटर ट्रेडिङलाई इन्जिन मर्मतको जिम्मा दिने निगम व्यवस्थापनको तयारी भए पनि बोलपत्रमा माटर ट्रेडिङ योग्य नहुने भएपछि पहिलो बोलपत्र रद्द गरिएको निगम स्रोतको दाबी छ।

दोस्रोपल्ट २०२४ अक्टोबर ३ (२०८१ असोज १७ गते) अर्को बोलपत्र आह्वान गरियो। उक्त बोलपत्रमा इजरायली कम्पनी बेट सेमेसले मात्र निवेदन दियो। उक्त कम्पनी विश्वव्यापी रूपमा नै पीटी ६–२७ इन्जिनको मर्मत तथा सञ्चालनका लागि परिचित कम्पनी हो। सुरुमा नै बेट सेमेसलाई इन्जिन मर्मतका लागि नदिँदा अहिले निगम जहाजविहीन हुनु परेको स्रोतको भनाइ छ। एउटा मात्रै कम्पनीले निवेदन हालेकोमा पनि निगमले इन्जिन मर्मत सम्झौता गर्न दुई महिनाभन्दा बढी समय लगाएको छ। 


निगमले पुस ५ गते मात्र इजरायली बेट सेमेससँग इन्जिन मर्मतका लागि औपचारिक सम्झौता गरेको थियो। बेट सेमेसको निवेदन माथि आन्तरिक मूल्यांकनको क्रममा समय लागेको निगम बताउँछ। 

प्रतिक्रिया