डेंगी रोग नियन्त्रण प्रभावकारी बनाउनुपर्छः सांसद पौडेल

Jasus Khabar 3925+ समाचार ( )
१० आषाढ २०८२

राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले डेंगी रोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको बैठकमा पौडेलले स्वास्थ्य सेवा विभागका अनुसार १८ पुस २०८१ देखि हालसम्म १ हजार ४ सय तीन जना डेंगीबाट संक्रमित भएको तथ्यांक प्रस्तुत गर्दै महामारीको सम्भावनालाई समय हुँदै नियन्त्रण गर्न माग गरेका हुन् ।

सांसद पौडेलले हरेक दिन एक/दुई जना डेंगी संक्रमित उपचारका लागि आउने गरेको र संक्रमण ७३ जिल्लामा फैलिइसकेको जानकारी गराए । ‘२०८० मा देशभर झण्डै ५२ हजारभन्दा बढी डेंगी संक्रमण पुष्टि भई २० जनाको मृत्युसमेत भएको थियो । २०७६/७७ मा महामारीकै रूप लिएको स्मरण गराउँदै पुनः महामारीको रूप लिन सक्ने सम्भावनालाई ध्यानमा राख्न माग गर्दछु,’ उनले भने ।  

सांसद पौडेलले तीनै तहका सरकारका अतिरिक्त स्थानीय स्वास्थ्य संस्था, टोल विकास समिति, विद्यार्थी, शिक्षक, राष्ट्रसेवक कर्मचारी, स्थानीय क्लबलगायत आमनागरिकसमेतको सहभागितामा डेंगी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन, जनस्वास्थ्य विभागद्वारा निगरानी र रोकथामका कार्यक्रम तीव्र बनाउन तथा संक्रमितलाई सहज र सरल रूपले उपचारको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

‘टेक एन्ड पे’ले हतोत्साही बनाउँछ

राष्ट्रियसभा सदस्य पौडेलले जलविद्युत्‌मा दुईतिहाइभन्दा बढी निजीक्षेत्रको योगदान रहेको तथ्य प्रस्तुत गरेका छन् । ‘तर बजेटको बुँदा नम्बर २२७ मा उल्लेखित ‘रन अफ रिभर’ आयोजनाको ‘टेक एन्ड पे’ अवधारणाअनुरुप विद्युत् खरिद सम्झौता गरिने प्रावधानले निजीक्षेत्रलाई निकै हतोत्साहित बनाएको छ । तसर्थ, तत्कालै सुधार्न माग गर्दछु,’ उनले भने ।

पौडेलले बहुदलीय व्यवस्था स्थापना हुनुभन्दा अगाडि करिब २७० मेगावाट मात्र विद्युत् उत्पादन भएको स्मरण गरे । ‘तर, नेपाली कांग्रेसको उदार आर्थिक नीतिअनुसार तत्कालीन जलस्रोतमन्त्री शैलजा आचार्यको पालामा निजीक्षेत्रलाई गरिएको प्रोत्साहनले अहिले दिनमा ३ हजार ६ सय २ मेगावाट विद्युत् उत्पादन भएको छ । त्यसैले टेक एन्ड पे अवधारणा लागू गर्नु हुँदैन,’ उनले भने । राष्ट्रियसभाको २३ जेठ को बैठकमै सांसद पौडेलले जलविद्युत् आयोजनामा टेक एन्ड पे अवधारणा हटाउन माग गर्दै सरकार र अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार