बराहक्षेत्रबाट ३ सय ३० केजी गाँजा बरामद

Jasus Khabar 3925+ समाचार ( )
२२ वैशाख २०८२

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित जंगलमा ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरिएको छ।


गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले आइतबार राती करिब ९ बजे ३ सय ३० केजी गाँजा बरामद गरेको हो।


प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित खैरबनी टोल नजिक गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त भएपछि टोली परिचालन गरिएको थियो। प्रहरीले खोजतलास गर्ने क्रममा गाँजा बोकेका व्यक्तिहरूले प्रहरी देख्नासाथ लागू औषध फालेर बराहक्षेत्रस्थित जंगलतर्फ भागेका थिए।


प्रहरी टोलीले घटनास्थलमा थप खोजतलास गर्दा प्लाष्टिकमा प्याक गरिएको अवस्थामा ११ वटा पोकामा गाँजा फेला पारेको छ।


फरार रहेका व्यक्तिहरूको खोजी कार्य जारी रहेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया