एकीकृत समाजवादी पार्टी (एस)का सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधव नेपाललाई राजीनामा दिन सुझाव दिएका छन् । एसको पार्टी कार्यालय आलोकनगरमा भएको खनाल र नेपालबीचको भेटमा उक्त प्रस्ताव राखेका हुन् ।>
खनालले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका कारण माधवले अध्यक्षबाट राजीनामा दिँदा राम्रो हुन्छ भन्ने सुझाव दिएका थिए । अध्यक्ष नेपालले भने त्यसमा जवाफ दिएका छैनन् । नेता खनालले शिलापत्रसँग आफूले प्रस्ताव राखेको तर त्यसबारे छलफल भइनसकेको बताए । उनले भने, ‘मैले अध्यक्षले मार्गप्रशस्त गर्दा राम्रो हुने प्रस्ताव गरेको छु, तर विस्तृत छलफल भएको छैन ।’>
खनालले शनिबारको भेट नेपालसँग लामो नभएको पनि बताए । उनले भने, ‘माधवजीसँग लामो समय रहेछन्, त्यसैले धेरै कुरा हुन पाएन ।’>
केही सातादेखि एकीकृत समाजवादीका नेता खनाल र अध्यक्ष नेपालबीचको सम्बन्धमा तिक्कतता आएको थियो । कतिसम्म भने एकले अर्कोलाई पार्टी छोड्न धम्कीसमेत दिएका थिए । केही दिनअघि नेता खनालले एमालेसँग विद्रोह गर्नुको कारण पुष्टि नभएको तर्कसमेत गरेका थिए । सार्वजनिक रुपमै खनालले उक्त धारणा राखेका थिए । र, एमाले विभाजन गरेकोप्रति पश्चाताप भएको उल्लेख गरेका थिए । खनालको उक्त अभिव्यक्तिपछि अध्यक्ष नेपालले पार्टी छोडेर जान सुझाव दिएका थिए ।>
खनालको अभिव्यक्ति आएको भोलिपल्ट नै नेपालले पनि सार्वजनिक रुपमै खनाललाई पार्टीमा बस्ने अधिकारसमेत नभएको टिप्पणी गरेका थिए ।>
नेपालले पार्टीबाट निस्कन सुझाव दिएलगत्तै खनालले निवासमा पत्रकार सम्मेलन गरेर ‘पार्टी चलाउन नसक्नेले चाहिँ पार्टी छोड्ने हो’ भन्दै नेपाललाई पार्टी छोडेर जान सुझाव दिएका थिए ।>
यो आरोपप्रत्यारोपकको एक सातापछि दुई नेताबीच भेट भएको हो । अघिल्लो शनिबार खनालले पत्रकार सम्मेलन गरे, अनि अर्को शनिबार नेपालसँगभेट गरे । यो भेटको तारतम्य भने एसका नेताहरूले मिलाएका हुन् । एसका महासचिव घनश्याम भुसाल, उपाध्यक्षद्धय बेदुराम भुसाल र प्रमेश हमालको समन्वयमा शनिबार दुई नेताबीच भेट भएको हो ।>
उक्त भेटमा एकअर्कोले आफ्ना अभिव्यक्तिको प्रतिरक्षा गरेका मात्र थिएनन, प्रष्टीकरण पनि दिएका थिए । यद्यपि, छलफलको वातावरण बनाउने प्रयास भएपनि हार्दिक कुरा भने नभएको स्रोतको भनाइ छ । हार्दिक सम्बन्ध नभएको संकेत दिनका लागि नै नेपालले छोटो समयमात्रै खनालसँग कुराकानी गरेको स्रोतको भनाइ छ ।>>