इनरुवा नगरपालिकाको बजेट ९६ करोड ६७ लाख, पूर्वाधार र सेवामा प्राथमिकता

Jasus Khabar 3953+ समाचार ( )
१० आषाढ २०८३

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ९६ करोड ६७ लाख ४५ हजार ५ सय १२ रुपैयाँको अनुमानित आय–व्यय बजेट प्रस्तुत गरेको छ।

नगर उपप्रमुख बिनिता कुमारी मेहताले नगरसभामा प्रस्तुत गरेको बजेटअनुसार संघीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँटमार्फत ठूलो हिस्सा प्राप्त हुने भएको छ। संघीय समानिकरण अनुदानतर्फ १६ करोड ७५ लाख, संघीय सशर्त अनुदान चालुतर्फ ३० करोड ८४ लाख, पुँजीगततर्फ ६६ लाख, संघीय समपूरक अनुदान २ करोड ३४ लाख तथा विशेष अनुदान ८३ लाख ३३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै, प्रदेश सरकारबाट समानिकरण अनुदान १ करोड ६० लाख २७ हजार, समपूरक अनुदान ८० लाख, सशर्त अनुदान चालुतर्फ १ करोड ७ लाख ६६ हजार तथा पुँजीगततर्फ ४ करोड २० लाख ८९ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

राजस्व बाँडफाँटअन्तर्गत संघीय राजस्वबाट १२ करोड ९६ लाख २३ हजार, प्रदेश राजस्व बाँडफाँट (सवारी कर) बाट १ करोड २५ लाख ६१ हजार ८३५ तथा घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट ४ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

यस्तै, बैंक मौज्दातसहितको आन्तरिक स्रोतबाट १८ करोड ८४ लाख ७८ हजार ६७७ रुपैयाँ परिचालन गर्ने लक्ष्य नगरपालिकाले लिएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सामाजिक सुरक्षा तथा आधारभूत सेवा प्रवाहलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया