भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल केदारनाथबाट तीर्थयात्री लिएर फर्किँदै गरेको हेलिकप्टर आइतबार बिहान दुर्घटना हुँदा एक बच्चा र पाइलटसहित पाँच जनाको मृत्यु भएको छ। हेलिकप्टरमा चालकदलसहित कुल ७ जना सवार थिए।>
स्थानीय समयअनुसार बिहान करिब बिहान ५:२० बजे गौरीकुण्ड नजिकै भएको उक्त दुर्घटनामा खराब मौसमलाई मुख्य कारण मानिएको छ।>
आर्यन एभिएसन कम्पनीको उक्त हेलिकप्टरले केदारनाथ मन्दिरबाट तीर्थयात्रीहरूलाई गौरीकुण्डतर्फ ल्याउँदै थियो। उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार हेलिकप्टरमा सवार यात्रीहरू उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका थिए।>
दुर्घटनाको खबर पाउनासाथ राष्ट्रिय विपद् प्रतिकार्य बल र राज्य विपद् प्रतिकार्य बलको टोली उद्धारका लागि घटनास्थलमा खटाइएको छ।>
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्य तीव्र गतिमा भइरहेको जानकारी दिएका छन्। उनले घटनाको विस्तृत अनुसन्धान गर्न समेत निर्देशन दिएका छन्।>>