हिंसात्मक विद्रोहको बाटो छोडेर कृषि क्रान्तिमा लागेका विप्लव

Jasus Khabar 3925+ समाचार ( )
११ वैशाख २०८२

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव २०८१ सालभर चर्चामा रहे । जनवादी राज्यसत्ता स्थापनाका लागि सशस्त्र क्रान्तिका पक्षपाती उनी २०८१ सालभरि राजनीतिका साथै कृषि क्रान्तिमा लागेका कारण बढी चर्चामा रहे ।

आफ्नै नेतृत्वमा सशस्त्र संघर्ष गर्न हिँडेका विप्लव यो वर्षभरि खेतीकिसानी गरिरहेका भेटिए । विप्लवले जति खरो र विप्लवी भाषण गर्छन्, त्यति नै मिहिनेत खेती किसानीमा गरेको देखियो । केही वर्षपहिला सत्ताविरुद्ध आगो ओकल्ने भाषण गर्ने, युद्धका कुरा बढी गर्ने गर्थे । कहिलेकाहीँ उनको सैन्य पोशाकमा उभिएका तस्वीर मिडिया र सामाजिक सञ्जालमा झुल्किन्थे । तर, यो वर्ष भने धान रोपेका, आलु खेती गरेको र भेडासँगका फोटा मिडिया र सामाजिक सञ्जालमा बढी देखिए । 

‘आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवं कार्यकर्ता’ नारासहित विप्लवले अहिले गृहजिल्ला कपिलवस्तुदेखि कर्णालीका पहाडहरूमा खेती अभियान चलाएका छन्, जसमा जुम्ला, कालीकोट, मुगु, हुम्लालगायतका जिल्लामा स्याउ, ओखर खेती र भेडापालन अभियान सञ्चालन गरिरहेका छन् ।

समाजवादी क्रान्तिको खाका कोर्दै हिँडेका विप्लव एकाएक  खेती किसानी र उत्पादनमा लागेको देखिनु नेपाली राजनीतिमा नयाँ नै हो । देशभर कार्यकर्तालाई सशस्त्र युद्धको तालिम दिँदै हिँडेका विप्लव २०८१ सालमा कार्यकर्तासँगै खेती किसानी गरिरहेको देख्दा अचम्म लाग्नु स्वाभाविक हो । तर, विप्लव भने अहिले कृषि क्रान्तिमा लागेका छन् । 

विप्लव अहिले युद्धका हतियार होइन, किसानी औजारसँग दिन बिताइरहेका छन् । विप्लव नेतृत्वको नेकपाले देशभर आफ्नो नाममा भएको २८ बिघा जमिनमा खेती गरिरहेको छ । अनि, देशका हरेकजसो जिल्लामा जग्गा लिजमा लिएर धान, मकै, आलु खेतीमा लागेको छ । अर्थात्, विप्लव अचेल सशस्त्र युद्धबाट होइन, कृषि क्रान्तिबाट साम्यवादको सपना साकार पार्ने अभियानमा छन् ।  सत्ता, सरकारभन्दा पर रहेर कृषिकर्म गर्न थालेका छन् । १ सय बिघाजति जग्गा भाडामा लिएर उनले समाजवादी तरिकाले खेतीपाती गरिरहेका छन् ।

पार्टीले नै कपडा सिलाउने गार्मेन्ट चलाएको छ । अहिले नेकपाका नेता कार्यकर्ताहरूले लगाउने कपडा आफ्नै गार्मेन्टमा सिलाउँछन् । आफूले उत्पादन गरेका कृषिउपजहरू काठमाडौँको सी मार्टमा बेच्छन् । सी मार्ट पनि नेकपाकै हो । जुम्लाको हिमा गाउँपालिका– ७, धौलापानीमा करिब १३ हजार वर्गमिटर क्षेत्रफलमा २ हजार स्याउका बिरुवा तथा ४ सय दाँते ओखरका बिरुवा रोपिएको छ । नेकपाले कालिको तिला गुफानगरपालिकास्थित फोईमा १ हजार स्याउ र ५ सय दाँते ओखर रोपेको छ । कालीकोटको रुप्सा गाउँमा त्रिवेणी साझेदारी भेडा फार्म सञ्चालनमा ल्याएको छ । सयौँ भेडा अहिले फार्ममा छन् । 

सशस्त्र विद्रोहबाट राज्यसत्ता कब्जा गर्न हिँडेका विप्लव पछिल्ला दिनमा कृषि क्रान्तिमा लागेका छन् भने राजनीतिबाट प्रधानमन्त्री बन्ने हुटहुटी पालेका छन् ।  प्रधानमन्त्री बन्न उनी अब छिट्टै निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारीमा छन् । निर्वाचन आयोगमा दल दर्ता गर्नका लागि स्थायी समिति सदस्य कर्णजित बुढाथोकीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेका छन् । उक्त समितिले दल दर्ताका लागि सबै तयारी गरिरहेको छ । यही मंसिरमा कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले २०८४ को निर्वाचनमा भाग लिने गरी दल दर्ता गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया