माओवादीको दुई बुँदे सहमति ‘झारो टार्ने’ काम, आन्दोलन जारी रहन्छ: परियार

Jasus Khabar 3925+ समाचार ( )
१ आषाढ २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा प्रमुख दलहरूबीच भएको सहमतिलाई ‘झारो टार्ने र झुक्याउने काम’ भन्दै अस्वीकार गरेको छ।

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकपछि रास्वपाले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै सदनमा आन्दोलन जारी राख्ने घोषणा गरेको हो।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरण मानव बेचबिखन जस्तो गम्भीर अपराध भए पनि सरकार र अन्य दलहरूले यसलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए।

‘हामीले लामो प्रयास र संवाद गर्‍यौं, तर सरकारले यो मुद्दालाई जुन गम्भीरताका साथ लिनुपर्थ्यो, त्यो लिएन,’ उनले भने, ‘प्रमुख प्रतिपक्षले जसरी सहमति गर्‍यो, त्यो कुनै ठोस र न्याय दिने खालको छैन।’

परियारले सभामुखलाई सदनमा विवेक प्रयोग गर्न आग्रह गर्दै एक जना सांसद मात्रै विरोधमा उभिँदा पनि सदनको कामकारबाही पेलेर अघि बढाउन नहुने नजिर रहेको स्मरण गराए।

‘हामीले सभामुखलाई यो विषयमा पहलकदमी लिन अनुरोध गरेका छौं,’ उनले भने, ‘यो सुसंस्कृत र सार्वभौम सदनलाई सत्ता र शक्तिको दुरुपयोग गरेर हेप्ने र पेल्ने काम हुनुहुँदैन।’

रास्वपाले उच्चस्तरीय छानबिन समिति गठन, गृहमन्त्रीको राजीनामा र प्रकरणमा संलग्न सबै व्यक्ति तथा संस्थालाई कारबाही गर्नुपर्ने माग अघि सारेको छ।

‘हामीले जनताको पक्षमा माग उठाएका छौं, जबसम्म यी माग सम्बोधन हुँदैनन्, हाम्रो आन्दोलन जारी रहन्छ,’ परियारले दृढतापूर्वक भने।


प्रतिक्रिया