गाईपालन व्यवसायबाट मनग्य आम्दानी

Jasus Khabar 3925+ समाचार ( )
२२ वैशाख २०८२

वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका– १ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गरेका छन् ।

उनले करिव ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गरेका थिए । उनले भने, ‘विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ चाँहि धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ ।’

बिहानै ४ बजे उठेर गाई दुहुने र गाउँका अन्य किसानको समेत दूध लिएर घोराही बजारको डेरीमा पुर्‍याउने अनि घर फर्केर फेरि गाईको हेरचाह गर्ने यसरी नै बित्छ थापाको दैनिकी । उसो त थापाका लागि कामको चाप भने विदेशको जस्तै छ । 

थापाले विगत पाँच वर्षदेखि एक दिन पनि यो काम छुटाएका छैनन् । थापालाई लाग्छ म एक दिन बिरामी भएँ भने यो दूध अर्को दिन कहाँ लगेर बेचुँ । गाईलाई दानापानीको काम परिवारका अन्य सदस्यले गरेपनि दूध बजारसम्म पुर्‍याउने काम भने थापा आफैँले मात्र गर्दै आएका छन् ।

सुरुमा दुईवटा गाईबाट यो पेसामा लागेका थापासँग हाल १७ गाई छन् । तीमध्ये सात वटा दुहुना छन् । दैनिक ८० लिटर दूध उत्पादन हुने गरेको थापाको भनाइ छ ।

विदेशमा कमाएको पैसाले घोराही बजारमा घडेरी किनेर एक तलाको घर बनाएका थापाले स्वदेश आएपछि ट्रक किन्नेदेखि बाख्रा पाल्नेसम्मको काम गरे ।  अन्य पेसामा सफल नभएका थापा गाईपालनमा भने सफल भएका हुन् ।

गाईपालनबाट पाँच वर्षमा थापाले करिब ५० लाख रुपैयाँ आम्दानी गर्नुका साथै जिल्लाकै एक उदाहरणीय किसान बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार