संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ पर्यटन नीति ल्याएको छ । पर्यटन नीति २०६५ लाई प्रतिस्थापन गर्दै मन्त्रालयले १७ वर्षपछि नयाँ नीति ल्याएको हो ।>
नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन र आर्थिक समृद्धिको आधारशिला तयार गर्न साविकको नीतिलाई प्रतिस्थापन गरी नयाँ पर्यटन नीति तर्जुमा गरिएको बताइएको छ । नयाँ संविधान जारी पछि तीन तहको शासकीय व्यवस्था अनुकूल बनाई अन्तरतह तथा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन, गुणस्तरीय र सुविधाजनक पूर्वाधारको विकास गर्न, पर्यटकीय वस्तुको विविधीकरण र विस्तार गर्न नयाँ नीतिको आवश्यकता औंल्याइएको छ । >
यस्तै, नेपालको तुलनात्मक लाभका पर्यटकीय वस्तुहरूको प्रचारप्रसारलाई प्रभावकारी बनाउन पर्यटकीय गतिविधिलाई दिगो, समतामूलक र वातावरणमैत्री बनाउन; पर्यटन संस्कृतिको विकास र विस्तार गर्न पर्यटन क्षेत्रको विकासमार्फत रोजगारीका थप अवसर सिर्जना गर्न आन्तरिक र वैदेशिक लगानी आकर्षण गर्न पर्यटकको रुचि र पर्यटकीय प्रविधिमा आएको परिवर्तन सम्बोधन गर्न नयाँ नीति ल्याएको भनिएको छ । >
साथै पर्यटकीय क्षेत्रमा आएका नयाँ आयामहरू अध्यात्म, खेल, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रहरूलाई सम्बोधन गर्न तथा पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिकालाई प्रवर्धन तथा प्रोत्साहन गर्न नयाँ नीति ल्याइएको मन्त्रालयले जनाएको छ । >
नयाँ नीतिमा नयाँ के छ ?
सरकारले ल्याएको नयाँ पर्यटन नीतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण र सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने उल्लेख गरेको छ । अहिले विमानस्थल सञ्चालन तथा व्यवस्थापन नागरिक उड्डयन प्राधिकरणले मात्रै गर्दै आइरहेको छ । नीतिले विशेषतः पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नीजि क्षेत्रसँगको सहकार्यलाई पनि खुला गरेको देखिन्छ । राजधानी बाहिरका अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रोत्साहित गरिने भन्ने नीतिमा उल्लेख छ । >
यस्तै, नीतिले राजधानी बाहिरका सम्भावित विमानस्थलहरूलाई क्षेत्रीय हबको रूपमा विकास गरी अन्तरदेशीय तथा अन्तरक्षेत्रीय हवाई सेवा सञ्चालन गरिने बताएको छ । प्रदेश तथा स्थानीय तहमा खेल पर्यटन प्रवर्धन गर्न सार्वजनिक निजी साझेदारीमा खेलकुद पूर्वाधारमा लगानी आकर्षित गरिने भनेको छ । नीतिले डिजिटल प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) समेतको प्रयोग गरी नेपालको पर्यटकीय विशेषता झल्काउने श्रव्यदृश्य सामग्री बहुभाषामा प्रकाशन गर्ने उल्लेख गरेको छ । >
यस्तै, पर्यटन क्षेत्रको अध्ययन, अनुसन्धान एवं तथ्यांक तथा सूचना अद्यावधिक गरिने र पर्यटनसँग सम्बन्धित समग्र तथ्यांक संकलन र विश्लेषण गर्न टुरिजम सेटेलाइट अकाउन्ट तयार गरिने भनिएको छ । पर्यटकीय गन्तव्य र वस्तुको विविधीकरण र विस्तार गर्ने, नेपालका पर्यटकीय वस्तुको सम्भाव्य स्रोत बजारमा प्रचारप्रसार गर्ने, पर्यटन प्रवर्धनमा निजी क्षेत्र, नेपालका विदेशस्थित कूटनीतिक नियोगका साथै गैरआवासीय नेपाली आबद्ध संघसंस्थासँग सहकार्य गर्ने नयाँ नीतिले लिएको छ । >
त्यसैगरी, पर्यटन क्षेत्रका अन्तर्राष्ट्रिय सेवाप्रदायकसँग सहकार्य गर्ने, सरकार, निजी क्षेत्र, समुदाय र सरोकारवालाको समन्वय र सहकार्यमा आन्तरिक पर्यटन प्रवर्धन गर्ने, गुणस्तरीय र पर्यटकमैत्री पूर्वाधार निर्माण गर्ने, पर्यटन सेवामा आन्तरिक र बाह्य पर्यटकको पहुँच अभिवृद्धि गर्ने, पर्यटकीय गतिविधिलाई वातावरणमैत्री बनाउनेलगायत कार्यनीति नयाँ नीतिले लिएको छ ।>
- नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन र आर्थिक समृद्घिको आधारशिला तयार गर्न नयाँ पर्यटन नीतिको तर्जुमा
- नयाँ पर्यटन नीतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण र सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने
निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौं : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको स्पष्ट गरेका छन् । मन्त्रालयमा आयोजित कार्यक्रम ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले भने, ‘निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढ्नुस्, सरकार समन्वयका लागि तयार छ । निजी क्षेत्र अघि बढेपछि मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ । हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौं ।’>
उनले संविधानसभामार्फत २०७२ सालमा जारी भएको नयाँ संविधानसँगै संघीयता कार्यान्वयन गर्न मन्त्रालय नीतिगत रूपमा अघि बढेको जानकारी दिए । संस्कृति नीति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा रहेको र मन्त्रालयमार्फत १३ विधेयकहरूसमेत अघि बढिसकेको मन्त्री पाण्डेले जानकारी दिए । मन्त्री पाण्डेले २०६५ सालको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै तयार पारिएको नयाँ ‘पर्यटनीति २०८२’ मा ‘अद्वितीय पर्यटकीय गन्तव्य : नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणको रूपमा समावेश गरिएको बताए ।>
>
>>>>
>>>>>