समाचार लेखेकै आधारमा कारबाही गर्ने विधेयक अस्वीकार्य: स्वतन्त्र पत्रकार संघ सुनसरी

Jasus Khabar 3958+ समाचार ( )
३ फाल्गुन २०८१

समाचार लेखेकै आधारमा कारबाही गर्ने विधेयक अस्वीकार्य: स्वतन्त्र पत्रकार संघ सुनसरी


सुनसरी । कोशी प्रदेशसभामा प्रस्तुत गरिएको "कोशी प्रदेश सञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक-२०८१" प्रति स्वतन्त्र पत्रकार संघ नेपाल, सुनसरी जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरू तत्काल संशोधन गर्न माग गरेको छ।

संघले हालै जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकार तथा सञ्चारमाध्यममाथि नियन्त्रण गर्ने खालका व्यवस्था विधेयकमा समावेश गरिएको भन्दै त्यसको विरोध गरिएको छ। विशेष गरी समाचार लेखेकै आधारमा पत्रकारलाई दण्डित गर्ने, सञ्चार माध्यमको सञ्चालनमा रोक लगाउने र आचारसंहिता उल्लंघनको आरोपमा क्षतिपूर्ति भराउने जस्ता प्रावधानहरू प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको स्वतन्त्र पत्रकार संघ सुनसरीको ठहर छ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा पत्रकारहरूले खेलेको भूमिका उल्लेख गर्दै स्वतन्त्र पत्रकार संघ सुनसरीका सचिव रविन्द्र कुमार यादवले राज्यले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कदम चाल्न नहुने स्पष्ट पारे। उनले भने, "प्रस्तावित विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण हो। यसलाई सच्याउन सबै पत्रकार, नागरिक समाज र सरोकारवाला निकाय एकजुट भएर दबाब दिनुपर्छ।"

पत्रकार संघले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले एकीकृत विधेयक ल्याउनु सकारात्मक भए पनि, त्यसका कतिपय प्रावधानहरू सञ्चार जगतलाई थप संकटमा धकेल्ने खतरा रहेको बताएको छ। संघले प्रदेश सरकारलाई प्रेस स्वतन्त्रतालाई ख्याल गरी विधेयक परिमार्जन गर्न आग्रह गर्दै, पत्रकारिता क्षेत्रलाई सशक्त बनाउनुपर्ने माग राखेको छ।

यसैबीच, स्वतन्त्र पत्रकार संघ नेपाल सुनसरी जिल्ला समितिको सचिव रविन्द्र कुमार यादवले आगामी दिनमा पत्रकार तथा नागरिक अधिकारकर्मीहरूसँग छलफल गरी विधेयकको विरोधमा थप कदम चाल्ने चेतावनी दिएको छ।

प्रतिक्रिया