गाजामा पत्रकारहरू भोकभोकै तड्पिँदै: इजरायली मिडिया नै लेख्छन्– होलोकस्टभन्दा कम भएन

Jasus Khabar 3945+ समाचार ( )
१२ श्रावण २०८२

गाजामा भोकमारी भएको खबर विश्वभर चर्चामा छ । सुकेनासले छटपटिएका बालबालिकाहरूका तस्वीर यत्रतत्र छन् । इजरायली नाकाबन्दी र सैन्य हमलाले गाजामा ‘मानव निर्मित’ भोकमरीको महामारी छ । संयुक्त राष्ट्रसंघको खाद्य कार्यक्रमअनुसार एक लाख महिला तथा बालबालिकाहरू भोकमरीमा परेका छन् । गत बुधबारमात्रै १० जनाको भोकमारीले ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

अर्कातिर गाजाको भोकमारीको जीवन्त ऐतिहासिक दस्तावेज बनाउनेहरू नै अहिले भोकमरीमा छटपटाइरहेका छन् । अर्थात्, अहिले चर्चामा गाजाका पत्रकारहरूको भोकमरी रहेको छ । पत्रकारहरू कसरी भोकभोकै काममा छन्, भन्नेमा विभिन्न समाचार आएका छन् ।

अमेरिकी म्यागजिन टाइमले बनाएको समाचारअनुसार गाजाका फोटोपत्रकार बसर तलिबले भोककै कारण काम गर्न सकेनन् । बसरले दुई थान क्यामेरा, एक थान ल्यापटप र गोली छेक्ने ज्याकेटको भार थाम्न सकेन् । फतक्क गले । १० वर्षदेखि फ्रान्सेली समाचार एजेन्सी एएफपीमा जागिर गरेका उनले पछिल्लो गाजाको भोकमरीबाट झण्डै १६ केजी तौल गुमाएका छन् । त्यही भएर पछिल्लो समय उनको ध्यान जागिरमा भन्दा ज्यानमा छ ।

उत्तरी गाजामा बस्ने पत्रकार खालिल अल्कालुतको अवस्था उस्तै रहेको टाइमले उल्लेख गरेको छ । खालिलले भन्ने गरेका छन्, ‘आज हामीले एकछाक खान पायौँ । यसले हामीलाई एक दिन बाँच्न तागत दिन्छ ।’ टर्कीको अनादामु समाचार एजेन्सीका फोटोपत्रकार खालिलले पछिल्लो समय भोकमरीकै कारण २७ केजीभन्दा धेरै तौल गुमाएको बताएका छन् । तीन भाइसँग बस्ने २२ वर्षका खालिलले टाइम म्याजगिनसँग भनेका छन्, ‘भोलि के खाने हो अत्तोपत्तो छैन ।’

दुई महिनाअगाडि अमेरिकामा मुख्यालय भएको पत्रकारहरूको सुरक्षामा काम गर्ने संस्था कमिटी टू प्रोटेक्ट जर्नालिस्टस् (सीपीजे)सँग बोल्दै गाजाका पत्रकार सले अल नातुरले भोकमरीको आतंकले पारेको पिरलो सुनाएका थिए । उनले सीपीजेसँग भनेका थिए, ‘भोककै कारणले एक प्रत्यक्ष प्रशारणमा मेरो ध्यान भङ्ग भयो । सूचना बिर्सिएँ । दुईपटक त म लाइभ सकेपछि गर्लम्मै ढलेँ ।’

यही वर्ष पुलित्जर पुरस्कारमा सर्टलिस्ट भएका ३५ वर्षका पत्रकार ओमार अल खत्ताले गाजा छोड्न बाध्य भएको फ्रान्सको समाचार एजेन्सी फ्रान्स प्रेसले उल्लेख गरेको छ । ३५ वर्षका पत्रकार ओमारले भनेका छन्, ‘खाद्य अभाव र भोकमरीले हामीसँग केही पनि ऊर्जा बाँकी छैन ।’ 

दुई सय बढी पत्रकारको मृत्यु, अनुभवीजति विस्थापित

बेलायती अखबार गार्डियनका अनुसार गाजामा २२५ प्यालेस्टाइनी पत्रकार तथा संचारकर्मीहरूको ज्यान गइसकेको छ । इजरायली हमलामा तिनको ज्यान गएको गार्डियनले उल्लेख गरेको छ । ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको हमलाको प्रतिहमलामा उत्रेको इजरायलको लापर्बाही कारबाहीमा परेर ज्यान जानेहरू मात्रै छैनन् गाजामा । कामबाट भाग्नेहरू पनि छन् ।

गार्डियनले गाजाका अनुभवी पत्रकारहरू पलायन भएको उल्लेख गरेको छ । विदेशबाट आएका पत्रकारहरू त अपवाद छोडेर भागिसकेका छन् । इजरायलले खाद्यान्न तथा ओखतीजन्य कुराहरूमा नाकाबन्दी लगाएपछि भोकमारी भएको हो । भोकमरी रोकथाम गर्न पठाइएको अभियानकर्मीहरूको सहायतासमेत इजरायलले रोक्यो । यसले भोकमरी झनै बढ्यो । त्यसको मारमा आमसर्वसाधारणसँगै प्रताडित भएका छन् पत्रकारहरू । पत्रकारहरू भोकमरीले प्रताडित भएपछि उनीहरूबाट आउनुपर्ने तहको समाचारहरू गाजाको संकटभूमिबाट आउन सकेको छैन ।

गाजाका पत्रकारहरू भोकभोकै तड्पिएकोमा के भन्छन् विश्व मिडिया ?

गाजामा पत्रकारहरूको भोकमरीको अवस्थामा विश्व मिडिया र मिडियासँग काम गर्ने संस्थाहरू चुप चाहिँ छैनन् । गाजा युद्धमा इजरायल पक्षधर भएको आरोप खेपेका पश्चिमा मिडियाहरूले पनि गाजाका पत्रकारहरूको भोकमारीमा भने मुखर भएका छन् ।

अमेरिका, बेलायत तथा फ्रान्सका मिडियाहरूले गाजाका पत्रकारहरूको भोकमरीविरुद्ध एक साझा वक्तव्य निकालेका छन् । अमेरिकाको एसोसिएट प्रेस, बेलायतका बीबीसी तथा रोयटर्स अनि फ्रान्सको एजेन्सी फ्रान्स प्रेसले साझा वक्तव्यमा भनेका छन्, ‘हामी हाम्रा पत्रकारहरूले बढ्दो क्रममा गाजामा आफ्नो र परिवारको हातमुख जोड्न नसकेकोमा ज्यादै चिन्तित छौँ ।’

उनीहरूको वक्तव्यमा थपिएको छ, ‘पछिल्ला धेरै महिनाहरूमा यी स्वतन्त्र पत्रकारहरू गाजा भूमिबारे विश्वले सुन्ने कान थिए । हेर्ने आँखा थिए । अहिले उनीहरूले पहिले समाचार बनाएका पात्रहरूजस्तै आफैँ संकटग्रस्त भएका छन् ।’

सीपीजेले पनि गाजामा पत्रकारहरूलाई भोकमरी लागेको मुद्दा जोडतोडले उठाएको छ । इजरायली हमला र भोकमारीको दोहोरो चपेटमा गाजाका पत्रकारहरू परेको सीपीजेले उल्लेख गरेको छ । अरु धेरै पत्रकार तथा मिडियाहरूमा पनि यो चिन्ता आएको छ ।

journalist-at-gaja-1753667387.jpeg
तस्वीर: एएपपी/गेट्टी इमेज

पत्रकारहरूको भोकमारीमा इजारायली मिडियाकै चिन्ता

गाजाका पत्रकारहरूको भोकमारी तथा इजरायली दादागिरीविरुद्ध बोल्ने थोरै इजरायली मिडियाहरूमा एक हो हाआरेज । हाआरेजले गाजामा भएको भोकमरीलाई प्राथामिकतामा राखेर समाचार बनाइरहेको छ । एक सामाग्रीको हेडलाइनमा हाआरेजले भनेको छ, ‘गाजाको भोकमरीको कारक इजरायल हो । तर यसले संयुक्त रास्ट्रसंघलाई दोष दिन खोजिरहेको छ ।’

हाआरेजकै अर्को सामाग्रीमा इजरायली सत्ताको कटाक्ष गरिएको छ । हाआरेजमा भनिएको छ, ‘गाजाको भोकमरीलाई नजरअन्दाज गर्नु भनेको होलोकस्टभन्दा कम उदाङ्गो हुनु होइन ।’ होलेकस्ट भनेको यहुदीलाई दोस्रो विश्वयुद्धताका सन १९४१ बाट सन १९४५ सम्म हिटलर तथा उसका सहयोगीहरूले गरेको आतंकको नाम हो ।

हाआरेजले सम्पादकीयमै इजरायललाई भोकमरीको दोष दिएर शीर्षक दिएको छ, ‘इजरायलले गाजाालाई भोकभोकै पार्दैछ ।’

प्रतिक्रिया