राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा यू–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतदेखि सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको कार्यक्रममा राखेपका अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १९औं एसियाली खेलकुदकी ऐतिहासिक रजत विजेता करातेकी एरिका गुरुङलाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए ।>
>
ट्रयाकमा दौड्दै एरिकाले टर्च एसियाली खेलकुदकै महिला कबड्डी टोलीकी कांस्य विजेता मानमति विष्टलाई दिइन् । मानमतिले १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता उसुका विजय सिन्जालीलाई प्रदान गरिन् । विजयले यूडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपका कांस्य पदक विजेता सुरेश चुनारालाई दिए । सुरेशले टर्चलाई ट्रयाकमा परिक्रममा गराउनुअघि बाँकी खेलाडी पनि सुरेशसँगै मिसिएका थिए । त्यसपछि सुरेशले तीन खेलाडीसँग मिलेर टर्च परिक्रमा गराएका थिए । त्यसअघि सहभागी सातै प्रदेशका टोलीको मार्चपास भएको थियो ।>
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले विद्यालय खेलकुद युवा खेलाडी उत्पादनको महत्वपूर्ण प्रतिस्पर्धा रहेकाले यसले निरन्तरता पाउनुपर्ने बताए । राखेप सदस्यसचिव टंकलाल घिसिङले विद्यालय तहबाट खेलकुदको जगलाई बलियो बनाउन जुनियर प्रतियोगिताको सुरुवात गरिएको बताउँदै यस्ता प्रतियोगिताले राष्ट्रिय टोलीलाईसमेत योगदान दिने बताए । उनले ६ खेललाई आगामी वर्षमा बढाउनु पर्नेमा जोड दिँदै जिल्ला र प्रदेश तहबाट नै छनोट हुँदै आएकाले यो प्रतियोगिताबाट उत्कृष्ट प्रतिभा निस्कने विश्वास व्यक्त गरे ।>
>>>>
नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रालिको सहआयोजना भएको प्रतियोगितामा सात प्रदेशका चार सय ७६ खेलाडी सहभागी छन् । २५ स्वर्ण, २५ रजत र ३३ कांस्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा ६ खेल समावेश छन् । एथलेटिक्स र रग्बी त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, टेबुल टेनिस लैनचौरस्थित राष्ट्रिय टेबुल टेनिस प्रशिक्षण केन्द्र, बास्केटबल राखेप हाता, ब्याडमिन्टन बुढानीलकण्ठस्थित ब्याडमिन्टन एकेडेमी तथा क्रिकेट मूलपानी क्रिकेट मैदानमा भइरहेको छ । क्रिकेट जेठ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । बाँकी पाँच खेल सोमबार सम्पन्न हुनेछ ।>
अदित्य र प्रकृतिलाई स्वर्ण
मधेस प्रदेशका अदित्य यादव र कोशी प्रदेशकी प्रकृति काफ्लेले यू–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । अदित्य छात्र तथा गौरी छात्रामा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अदित्यले निर्धारित दूरी ११.६ सेकेन्डमा पूरा गरे । कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा कोशी प्रदेशका अंकित ताजपुरियाले कांस्य पदक जिते । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगितामा प्रकृतिले निर्धारित दूरी तय गर्न १४.६ सेकेन्ड समय खर्चिन् । कर्णालीकी गोमा शाहीले रजत तथा सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले कांस्य हात पारे । >
यसैगरी छात्र चार सय मिटर दौडमा गण्डकी प्रदेशका आयन राना पहिलो भए । उनले ५५.६ सेकेन्डमा दौड सकाए । सुदूरपश्चिमका रोहित धामी दोस्रो तथा कोशीका प्रियान्शु शाह तेस्रो भए । सोही स्पर्धाको छात्रामा कर्णालीकी सुष्मा बुढा ६०.३ सेकेन्ड समयका साथ शीर्ष स्थानमा रहिन् । गण्डकीकी आराध्या चालिसे दोस्रो तथा बागमती प्रदेशीकी शिल्भी नागा तेस्रो बने ।>
छात्र लङजम्पमा कर्णालीका सुरेन्द्र सुनार पहिलो भए । उनले ५.९८ मिटर जम्प गरे । कोशीका नितेश गच्छदार दोस्रो तथा सुदूरपश्चिमका मोहन परियार तेस्रो भए । उक्त स्पर्धाको छात्रामा ४.१७ मिटर जम्प गरेकी लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो बनिन् । कर्णालीकी करुणा चन्द दोस्रो तथा कोशीकी प्रकृति काफ्ले तेस्रो भए । जम्मा १२ स्पर्धा समावेश एथलेटिक्सको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा कर्णालीले दुई स्वर्ण जितेको छ । कोशी, गण्डकी, मधेश र लुम्बिनीले एक÷एक स्वर्ण जितेका छन् ।>
टेबलटेनिसको छात्र डबल्समा बागमतीका आर्यन शाही र अर्नव श्रेष्ठ तथा कोशी प्रदेशका गौतम तामाङ र सक्षम बस्नेतको जोडी फाइनलमा प्रवेश गरेका छन् । छात्रा डबल्समा बागमतीका अर्सना महर्जन र श्रेया शाक्य तथा कोशीकी स्वस्तिका चौधरी र श्रेया सुवेदीको जोडीले फाइनलमा स्थान सुरक्षित गरे । छात्र÷छात्रा सिंगल्समा क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।>
यसैगरी दशरथ रंगशालामा भएको रग्बीको पहिलो दिन लिग चरणका १२ खेल सम्पन्न भएका छन् । अन्तिम दिन सोमबार लिगसहित १४ खेल हुनेछ । मूलपानीमा भएको छात्र क्रिकेटमा कोशीले सुदूरपश्चिम प्रदेशलाई आठ विकेट, लुम्बिनीले बागमतीलाई तीन रन र मधेसले कर्णालीलाई नौ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेका छन् ।>>