सुनसरी । पत्रकारिता पेशामा तीन दशक विताइसकेका सुनसरीका चर्चित पत्रकार इकवाल अहमदले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएसँगै जिल्लाको राजनीतिक माहोल ततिएको छ । उम्मेदवारीसँगै उनले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो तीन दशक लामो पत्रकारिताको यात्रालाई राजनीतिक प्रतिबद्धतामा रूपान्तरण गरेका छन् ।>
सक्रिय पत्रकारितामा रहँदै जनताको पक्षमा निरन्तर कलम चलाउँदै आएका अहमदको उम्मेदवारीले जिल्लाभर बहस सुरु भएको छ । उनको निर्णयलाई लिएर समर्थक र आलोचक दुबै पक्षबीच चर्चा चुलिएको छ । “सधैँ जनताको पक्षमा लेख्ने पत्रकार किन राजनीतिमा आए?” भन्ने प्रश्नको उत्तर दिँदै अहमद भन्छन्,>
“३० वर्षदेखि सुनसरीका जनताको आवाज बनेँ । बेथिति, भ्रष्टाचार र अन्यायविरुद्ध कलम चलाएँ । तर राजनीतिक शक्तिको अभावमा सबै प्रयास सफल हुन सकेनन् । त्यसैले पत्रकारितासँगै राजनीतिक शक्तिबाट मात्रै समाज परिवर्तन सम्भव हुन्छ भन्ने निष्कर्षमा पुगेँ।”>
उनका अनुसार नागरिकप्रतिको कर्तव्यबोध र प्रतिबद्धताले नै उनलाई राजनीतिमा प्रवेश गराएको हो । राजनीतिक प्रणाली दूषित हुँदा पत्रकारिताले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने अनुभवका कारण आफू निर्वाचनमा होमिएको उनले बताए ।>
अहमदले देशमा देखिएको राजनीतिक अस्थिरता, जनताको बढ्दो निराशा र सुशासनप्रतिको अपेक्षा पूरा गर्न सचेत नागरिक र युवाहरू स्वतन्त्र र निर्भीक रूपमा राजनीतिमा आउनुपर्ने आवश्यकता औँल्याए । परम्परागत दलगत राजनीतिले जनताको वास्तविक समस्या समाधान गर्न नसकेको आरोप लगाउँदै उनले स्वतन्त्र उम्मेदवारीलाई जनताको आवाज संसदसम्म पुर्याउने माध्यम ठानेको बताए ।>
स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै उनले भने,>
“दलका गुटबन्दी, स्वार्थ र पदलोलुपताले जनताको मुद्दा ओझेलमा परेका छन् । यही कारण म स्वतन्त्र रूपमा जनताको प्रतिनिधित्व गर्न अगाडि आएको हुँ।”>
उनका अनुसार सुनसरी–२ मा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र आधारभूत पूर्वाधारको अवस्था अझै सन्तोषजनक छैन । युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य छन् भने किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् ।>
राजनीतिक स्वार्थले जनताका समस्यालाई ओझेलमा पारेको भन्दै उनले ती मुद्दालाई प्रत्यक्ष रूपमा संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरे । कुनै दलको दबाब वा निर्देशनमा नचल्ने स्पष्ट पार्दै उनले जनताप्रति मात्र उत्तरदायी रहने घोषणा गरे ।>
“मेरो राजनीति सेवा र इमानदारीमा आधारित हुनेछ । चुनाव जितेपछि होइन, चुनावअघि नै जनताको बीचमा बसेर काम गर्ने मेरो उद्देश्य हो,” अहमदले भने ।>
भ्रष्टाचार नियन्त्रण, पारदर्शी प्रशासन, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग र समावेशी विकासलाई प्रमुख एजेन्डा बनाएका अहमदले पिछडिएका वर्ग, अल्पसंख्यक समुदाय, महिला र युवाको हकहितका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन् ।>
>
तीन दशक लामो पत्रकारिताबाट राजनीति प्रवेश गरेका इकवाल अहमदको स्वतन्त्र उम्मेदवारीले सुनसरी–२ को चुनावी समीकरणमा नयाँ बहस र सम्भावनाको ढोका खोलेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।>>