दाङमा बाघको छाला र ओखेटोपहारसहित तीन जना पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
२२ आषाढ २०८२

दुर्लभ वन्यजन्तु पाटे बाघको छाला (ओखेटोपहार) सहित तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बाघको छालाको अवैध कारोबार भइ रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

शनिबार दिउँसो प्राप्त सूचनाका आधारमा वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयको कमाण्डमा खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब २ बजे गढवा गाउँपालिका–६, खवरी गाउँमा छापा मारेको हो ।

सो क्रममा स्थानीय ४१ वर्षीय बिक्रम बुढामगरको घरमा लुकाइछिपाई राखिएको बाघको छालासहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेहरूमा दाङ राजपुर गाउँपालिका–१, गुरुङखोलाका ५३ वर्षीय केशवराज सेन ठकुरी, बर्दिया बारबर्दिया नगरपालिका–४, पदनाहका ३३ वर्षीय अनिल थारु र घरधनी बिक्रम बुढामगर छन् ।

इलाका प्रहरी कार्यालय गढवाको समन्वयमा गरिएको खानतलासीका क्रममा बुढामगरको घरको माथिल्लो तलामा रातो प्लास्टिकको जेब्रा झोलाभित्र लुकाइएको बाघको छाला फेला पारिएको हो । बरामद गरिएको छालाको लम्बाइ शिरदेखि पुच्छरसम्म ९ फिट २ इञ्च र चौडाइ ३ फिट २ इञ्च रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार