इजरायलले गाजामा विद्यालयलाई निशाना बनाएर गरेको हमलामा २५ जनाको मृत्यु भएको छ । स्कुलमा आगो लाग्दा मानिसहरू जिउँदै जलेका थिए ।>
एउटा किन्डरगार्डेन स्कुलमा इजरायलले हमला गरेको अल जजिराले जनाएको छ । इजरायली हमलापछि यसलाई शरणार्थी शिविरका रूपमा प्रयोग गरिँदै आएको थियो ।>
इजरायली हमलामा दुई जना रेडक्रसकर्मी, एक पत्रकार र केही बालबालिका समेत रहेका छन् । यो हमलामा सबैभन्दा कम उमेरका इन्फ्लुएन्सर ११ वर्षीय याकिन हम्मादको समेत मृत्यु भएको छ ।>
हमलापछि स्पेनले इजरायलमाथि प्रतिबन्ध लगाउँन संसारभरका देशसँग माग गरेको छ । गाजामा २३ मेमा भएको हमलामा खान युनुसकी एक महिला डाक्टर अल–नज्जरसहित ९ बालबालिकाको मृत्यु भएको थियो भने एक बच्चा गम्भीर घाइते भएका थिए ।>
स्वास्थ्य अधिकारीहरूका अनुसार मृत्यु भएका बच्चाको उमेर ७ देखि १२ वर्षसम्म थियो । डाक्टरका पति समेत सो हमलामा गम्भीर घाइते भएका थिए ।>
इजरायली सेनाका अनुसार गाजामा ठूलो मात्रामा सैन्य अभियान सुरु भएको छ । यो अभियान अनुसार १४ देखि २० मेसम्म मात्रै करिब ६७० स्थानमा हमला भएको थियो । जसमा करिब ५१२ जना सर्वसाधारण मारिएका थिए ।>
इजरायलले गाजा पट्टीको करिब ७७ प्रतिशत क्षेत्रमा नियन्त्रण गरिसकेको छ । अल जजिराको रिपोर्टअनुसार गाजाको सरकारी मिडियाले इजरायलले ठूलो हिस्सा कब्जा गरेको जनाएको हो । उसले इजरायलमाथि नरसंहारको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई तत्काल हस्तक्षेप गर्न माग गरेको छ ।>
इजरायली सेनाले संरक्षित क्षेत्र, सुरक्षा करिडोर र भारी गोलीबारीका माध्यमबाट गाजाको उत्तरी र दक्षिणी क्षेत्र पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको छ । मिडिया रिपोर्ट अनुसार इजरायलले नेत्सारिम करिडोरबाट गाजालाई दुई टुक्रा पारिदिएको छ । जसबाट प्यालेस्टिनी नागरिकको आवतजावतमा पूर्ण रूपमा असम्भव भएको छ ।>
इजरायलले राफा र गाजा सिटीजस्ता घना बस्ती भएका क्षेत्रलाई ‘नो गो जोन’ घोषित गरिदिएको छ । जसबाट लाखौँ मानिस विस्थापित भएका छन् । नेत्जारिम करिडोरले गाजालाई दुई भागमा विभाजित गर्छ ।>
यसै वर्षको सुरुमा इजरायल–हमासबीच युद्धविराम हुँदा इजरायली सेनाले नेत्जारिम करिडोर छाडेको थियो । तर केही समयपछि फेरि इजरायलले युद्ध सुरु गरेसँगै फेरि यो क्षेत्र आफ्नो नियन्त्रणमा लिएको हो ।>
गाजाको मिडिया कार्यालयले इजरायलमाथि गाजा पट्टीबाट प्यालेस्टिनी जनतालाई विस्थापित गर्ने षड्यन्त्र रचेको बताएको छ । कार्यालयका अनुसार इजरायली सेनाले जबर्जस्ती हस्तक्षेप, बमबारी र सहायता रोकेर गाजालाई ध्वस्त बनाइरहेको छ>
गाजामा इजरायलले ७ अक्टोबर, २०२३ देखि सुरु गरेको हमलाका क्रममा हालसम्म ७० प्रतिशतभन्दा बढी आधारभूत संरचना नष्ट भएका छन् भने १९ लाख अर्थात् गाजाको ८५ प्रतिशत मानिस घरबारबिहीन भएका छन् ।>
इजरायली अधिकारीहरूले भने गाजाका मिडियाको दाबी खारेज गरेका छन् । गाजामा हमास समाप्त नभएसम्म युद्ध जारी रहने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । उनले युद्धपछि इजरायली सेनाले गाजामाथि पूर्ण नियन्त्रण कायम गर्ने बताएका छन् ।>
संयुक्त राष्ट्र संघीय मानवअधिकार संगठनले गाजामा उत्पन्न मानवीय संकटलाई लिएर चिन्ता जनाएको छ । युनिसेफ र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले १२ मेमा ९६ प्रतिशत बालबालिका कुपोषित भएको जनाएको थियो ।>>