सुनसरी । कोशी गाउँपालिकाले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको समग्र नतिजा कमजोर देखिएको छ । कुल ४५३ विद्यार्थी सहभागी भएको परीक्षामा २३० जना विद्यार्थी ननग्रेडेड (फेल) भएका छन् भने मात्र २२३ जना विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् ।>
सबैभन्दा उत्कृष्ट नतिजा ग्रीनल्याण्ड एकेडेमी एजुकेशन फाउन्डेशनले ल्याएको छ । उक्त विद्यालयका १२ जना विद्यार्थी सहभागी भएकामा सबै १२ जना नै उत्तीर्ण हुँदै शतप्रतिशत नतिजा हासिल भएको हो । त्यसैगरी सुनसरी मोडल पब्लिक स्कुल, कोशी–१ ले १६ मध्ये १५ जना विद्यार्थी उत्तीर्ण गराउँदै ९३ दशमलव ७५ प्रतिशत नतिजा निकालेको छ ।>
>
सामुदायिक विद्यालयतर्फ कोशी माध्यमिक विद्यालय, पश्चिम कुशाह–२ ले ३९ मध्ये ३२ जना विद्यार्थी उत्तीर्ण गराउँदै ८२ दशमलव ०५ प्रतिशत नतिजा निकाल्न सफल भएको छ । राष्ट्रिय माध्यमिक विद्यालय, लौकही कोशी–१ ले १०१ मध्ये ५२ जना विद्यार्थी उत्तीर्ण गराउँदा ४९ जना फेल भएका छन् ।>
>
यता कोशी जनता माध्यमिक विद्यालय, कोशी–७ को अवस्था भने अत्यन्त कमजोर देखिएको छ । ६९ जना विद्यार्थी सहभागी भएकामा केवल २० जना मात्र उत्तीर्ण भएका छन् भने ४९ जना विद्यार्थी फेल भएका छन् । विद्यालयको उत्तीर्ण प्रतिशत २८ दशमलव ९९ मात्र रहेको छ ।>
>
त्यस्तै सप्तकोशी मावि, कोशी–८ मा ४१ मध्ये १३ जना मात्र उत्तीर्ण हुँदा २८ जना विद्यार्थी फेल भएका छन् । विद्यालयको नतिजा ३१ दशमलव ७१ प्रतिशतमा सीमित भएको छ । राष्ट्रिय माध्यमिक विद्यालय सोवनपुर, कोशी–३ मा पनि १०४ मध्ये ६४ जना विद्यार्थी फेल भएका छन् भने केवल ४० जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।>
>
प्राविधिक धारतर्फ रहेको राष्ट्रिय माध्यमिक विद्यालय सोवनपुर (TEVT) मा २६ मध्ये ११ जना विद्यार्थी उत्तीर्ण भएका छन् । अल–फलाह पब्लिक सेकेन्डरी स्कुल भण्टाबारीले १७ मध्ये ११ जना विद्यार्थी उत्तीर्ण गराउँदा मदरसा दारुल होदा अल–सलाफियाले ६ मध्ये ४ जना विद्यार्थी उत्तीर्ण गराएको विवरणमा उल्लेख छ ।>
>
समग्र नतिजाले कोशी गाउँपालिकाको शैक्षिक अवस्था चिन्ताजनक रहेको देखाएको छ । विशेषगरी सामुदायिक विद्यालयहरूको कमजोर नतिजाप्रति अभिभावक तथा स्थानीयवासीले गम्भीर चासो व्यक्त गरेका छन् । शिक्षा क्षेत्रमा ठूलो बजेट खर्च भइरहेका बेला यति धेरै विद्यार्थी फेल हुनुमा विद्यालय प्रशासन, शिक्षक र सम्बन्धित निकायको कमजोरी देखिएको भन्दै स्थानीयले प्रश्न उठाउन थालेका छन् ।>
>